पाँच वर्षपछि एनसेल सरकार स्वामित्व आउनुपर्छ : सांसद श्रेष्ठ

पाँच वर्षपछि एनसेल सरकार स्वामित्व आउनुपर्छ : सांसद श्रेष्ठ

काठमाडौं : एमाले सांसद् कृष्णगोपाल श्रेष्ठले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल पाँच वर्षपछि सरकारको स्वामित्वमा आउनुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको राज्यव्यवस्था समितिको बैठकमा आफ्नो धारणा राख्दै श्रेष्ठले पाँच वर्षपछि एनसेल सरकारको स्वामित्वमा ल्याउन सरकार जे गर्नुपरे पनि गर्नुपर्ने बताए।

उनले भने, ‘अबको पाँच वर्षपछि एनसेल नेपाल सरकारको स्वामित्वमा आउँछ कि आउँदैन, आउनका लागि के–के गर्नुपर्ने हो, त्यसो गर्नुपर्यो। सरकारको स्वामित्वमा आउनुपर्यो।’

श्रेष्ठले यो वा त्यो बहानामा नेपाल सरकारको स्वामित्वमा आउन नदिने चलखेल हुन सक्ने भन्दै त्यसो हुन नदिन आग्रह गरे।

उनले थपे, ‘अबको पाँच वर्षपछि २०२८/२९ मा यो वा त्यो बहानामा फुत्किन्छ कि फुत्किँदैन? सरकारको स्वामित्वमा आउँछ कि आउँदैन भन्ने कुरा महत्वपूर्ण हो।’

श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारका सदस्य समेत जोडिएको कुरा आएकाले त्यस विषयमा समेत स्पष्ट पार्न उनले आग्रह गरे।

पुष ३, २०८० मंगलबार १२:३२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।