फिल्म ‘चित्रा’को टिजर हेर्न मुख्य कलाकार नआउँदा निर्मातालाई नै कार्यक्रम खल्लो लाग्यो
काठमाडौँ : पुस २७ गते प्रदर्शन मिति तोकेर प्रचारमा उत्रिएको फिल्म ‘चित्रा’को टिजर रिलिज कार्यक्रममा फिल्मका मुख्य कलाकार नै आएनन्। फिल्ममा अर्पण थापा,शुभेच्छा खड्का,मेनुका प्रधान,अन्जना बराइली मुख्य कलाकार छन्।
३ बजे निम्ता गरिएको कार्यक्रम साँढे ४ बजेपछि मात्रै सुरु भयो। विश्वज्योती हलमा भएको कार्यक्रममा अर्पण थापा,मेनुका प्रधान,शुभेच्छा खड्का उपस्थित भएनन्।
उकेराकर्मीले निर्माता आशिष थापा मगरलाई मुख्य कलाकार खै भनेर सोध्दा उनले कोही व्यस्त त कोही बिरामी भएको बताए।
‘अर्पण थापालाई रुघामर्की लागेको छ रे भन्ने म्यासेज गर्नुभयो। त्यही भएर नआउने जानकारी दिनुभयो। मेनुका पनि कता व्यस्त छु अर्को पटक आउँला भन्ने कुरा गर्नुभयो। अब शुभेच्छाजीको कुरा गर्ने हो भने भोलि विदेश जाने तयारी भएकोले आज आउन अलिक भ्याइन भन्नुभयो।’
मुख्य कलाकार नआउँदा कार्यक्रम अलिकति खल्लो भएको उनलाई पनि लागेछ।
‘अस्ति गीतको बेलामा रमाइलो भएको थियो। सबै जना आउनु भएको थियो तर आज टिजर रिलिजको समयमा नआउँदा अलिक खल्लो महसुस हुने रहेछ,‘उनले भने।
फिल्मका कार्यकारी निर्माता सन्तोष अधिकारी आफै अभिनेता भएका छन् फिल्ममा। अभिनेता बन्न फिल्ममा लगानी नै गर्नुपर्यो है भन्ने प्रश्नमा उनले सानैदेखि फिल्ममा अभिनयको इच्छा भएको अनि कथाले मागेकाले अभिनय गरेको जवाफ दिए।
चित्राको निर्माण टोलीका अनुसार फिल्मको कथा बाबु छोरीको सम्बन्ध हो। अधिकारीले बाबुको भूमिका निर्वाह गरेका रहेछन्। छोरीको भूमिकामा भने सिमरन खड्का छिन्।
टिजरको प्रारम्भ बाबु-छोरीको संवादबाट सुरु गरिएको छ। नमिलेको संवादले दर्शक तानिँदैनन्। टिजरभर निर्माता अधिकारी नै छाएका छन्। अर्पण, मेनुका छ्यास्स देखिएका छन्।
घनश्याम लामिछानेको निर्देशनमा बनेको फिल्मको कथा अजय अधिकारीले लेखेका हुन्। फिल्मको पटकथा मनिष गौतमको छ। निर्माता आशिषका अनुसार यो फिल्मको लागत अहिलेसम्म एक करोड हाराहारी पुगिसकेको छ भने प्रदर्शन हुँदासम्म डेढ करोड पुग्न सक्ने उनले बताए।
पुष २, २०८० सोमबार १९:४८:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।