दाउद इब्राहिमको मृत्यु भएको भन्दै पाकिस्तानी प्रधानमन्त्रीले ट्विट गरेका हुन्?

दाउद इब्राहिमको मृत्यु भएको भन्दै पाकिस्तानी प्रधानमन्त्रीले ट्विट गरेका हुन्?

काठमाडौँ : विष खुवाएर अस्पताल पूर्याइएका अन्डर्वर्ड डन दाउद इब्राहिमको मृत्यु भएको विषय भारतीय मिडिया अनि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। कराँचीमा बस्दै आएका दाउदलाई कसैले झुक्क्याएर विष खुवाएपछि उपचारकै लागि कराँचीको कुनै अस्पताल लगिएको र उनको मृत्यु भएको दाबी गर्दै समाचार प्रकाशित भइरहेका छन्।

आइतबार बेलुकैबाट दाउदलाई झुक्क्याएर विष खुवाइएको दाबीहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका थिए। सोमबार बिहानबाट उपचारकोक्रममा उनको मृत्यु भएको समाचार भाइरल भए।

पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवर उल हक काकडले दाउदको मृत्यु भएको भन्दै गरेको ट्विटलाई आधार मानेर समाचारहरू बनेको देखिन्छ।

काकडको अकाउन्ट दाबी गरिएको ट्विटरमा दाउदलाई मानवताको मसिहा भन्दै कराँचीमा अन्तिम सास लिएको उल्लेख छ।

जुन ट्विटर अकाउन्टबाट दाउदको मृत्यु भएको ट्विट गरियो। त्यो नक्कली भएको खुलेको छ। सो अकाउन्टको नाममा anwaar_kakkar लेखिएको छ। परिचयमा पाकिस्तानको कार्यवाहक प्रधानमन्त्री लेखिएको अकाउन्टमा माथि फ्यान्स अर्थात् प्रशंसक लेखिएको छ। जम्मा १७ जनाले फलो गरिएको सो ट्विटर अकाउन्टमा अहिले दाउद मरेको ट्विट डिलेट भइसकेको छ।

उनको सक्कली ट्विटर खातामा युजरनेम anwaar_kakar लेखिएको छ। नक्कली खाता बनाउने व्यक्तिले दुइवटा के लेखे पनि अधिकांशले सो सक्कली खाता सम्झेर दाउद मरेको भन्दै झुक्किएको देखिन्छ।

भारतको मोस्ट वान्टेड सूचीमा रहेका दाउद कहाँ छन् यकिन छैन। उनी कराँचीमा पाकिस्तानी सुरक्षाकर्मीको सुरक्षा घेरामा रहेको बंगलामा बस्ने गरेको भारतीय मिडियाहरूले दाबी गर्ने गरेका छन्।

नेपालबाट हुने नक्कली भारतीय रुपैयाँको कारोबार लगायतमा जोडिने नेपालीहरू समेत दाउदको एजेन्टको रूपमा आरोपित हुने गरेका छन्।

पुष २, २०८० सोमबार १६:५३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।