रुसले नाटोमाथि आक्रमण गर्ने बाइडेनको दाबीमा पुटिनको खण्डन, भने- ‘बकवास आरोप’

रुसले नाटोमाथि आक्रमण गर्ने बाइडेनको दाबीमा पुटिनको खण्डन, भने- ‘बकवास आरोप’

एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले नाटोमाथि आक्रमण गर्ने अमेरिकी दाबीलाई खण्डन गरेका छन्।

रुसको सरकारी टेलिभिजमा एक सम्बोधन गर्दै पुटिनले अमेरिकाको दाबीलाई बकवास भनेका हुन्। उनले यस्तो द्वन्द्वले आफ्नो देशलाई हित नगर्ने भएकाले त्यसतर्फ आफ्नो सोच नभएको बताए।

एक साताअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमाथि विजयी हासिल गरे नाटोमाथि आक्रमण गर्ने र त्यसले तेस्रो विश्वयुद्ध निम्तनले बताएका थिए।

‘यो एकदमै बकवास हो र यो कुरा बाइडेनले पनि बुझेका छन्,’ टेलिभिजन सम्बोधनका क्रममा उनले भनेका छन्, ‘नाटो देशहरूसँग लड्नुपर्ने रुसको कुनै भूराजनीतिक स्वार्थ छैन, न त कुनै आर्थिक, राजनीतिक वा सैन्य चासो नै छ।’

नाटो एक एक सामूहिक सुरक्षा प्रणाली एवं अन्तर्राष्ट्रिय सैन्य गठबन्धन हो, जसमा २८ युरोपेली र दुई उत्तर अमेरिकी राष्ट्रहरू पर्दछन्।

दोस्रो विश्वयुद्धपछि स्थापना भएको यस संस्थाले सन् १९४९ अप्रिल ४ मा वासिङ्टन, डिसीमा हस्ताक्षर गरिएको उत्तर एटलान्टिक सन्धि लागू गरेको थियो। यसका सदस्य राष्ट्रहरूमाथि कसैले आक्रमण गरेका त्यसविरुद्ध यसका सदस्य देशहरूले उनीहरूलाई रक्षा गर्नेछन्।

बाइडेनले आफ्नो गलत नीतिलाई सही साबित गर्नका लागि यस्ता किसिमका भड्काउने अभिव्यक्ति दिइरहेको हुनसक्ने पुटिनको दाबी छ।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिका–रुस सम्बन्ध सबैभन्दा तल्लो तहमा पुगेको छ। २२ महिनाको युद्धमा अमेरिकाले युक्रेनलाई १ सय ११ बिलियन डलरको हतियार, उपकरण र अन्य सहायता उपलब्ध गराएको छ।

बाइडेन युद्धग्रस्त युक्रेनमा अझ बढी सहयोग गर्ने पक्षमा छन्। उनले अमेरिकी कंग्रेसलाई इजरायल र अन्य मुद्दाहरूको लागि थप ११० बिलियन डलरको ठूलो प्याकेज अनुमोदन गर्न आग्रह गरेका छन्। जसबाट ६१.४ बिलियन डलर युक्रेनलाई सहयोग गरिनेछ।

तर लामो समयदेखि चलिरहेको युद्धका कारण कंग्रेसले यसलाई अनुमोदन गर्ने सम्भावना न्यून हुँदै गइरहेको छ। केही रिपब्लिकन सांसदहरूले पहिला सीमा सुरक्षामाथि कारबाही गर्ने माग गर्दै यो सहयोग प्याकेजलाई रोक्न माग गरेका छन्।

पुष २, २०८० सोमबार १४:१८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।