तीनकुनेमा रित्ता भाँडा देखाएर गरिएको प्रदर्शन प्रहरीद्वारा तितरवितर

तीनकुनेमा रित्ता भाँडा देखाएर गरिएको प्रदर्शन प्रहरीद्वारा तितरवितर
तस्बिर- अमृत पुडासैनी/उकेरा

काठमाडौं : मेलम्ची खानेपानी आयोजनामाथिको चलखेल बन्द गर्न माग गर्दै भएको प्रदर्शन प्रहरीले तितरवितर पारेको छ।

काठमाडौं उपत्यका संघर्ष समितिले कोटेश्वर–तीनकुने क्षेत्रमा रित्ता भाँडा देखाउँदै गरेको प्रदर्शन प्रहरीले केहीबेरअघि तितरवितर पारेको हो।

तीनकुनेको बाटो अवरोध गरेपछि प्रहरीले उनीहरूलाई धकेलेर भीड तितरवितर पारेको हो। 

उनीहरूले ‘मेलम्ची पानीमाथिको चलखेल बन्द गर’, ‘मेलम्चीको पानी तुरुन्त खोल’ लगायतका नारा लेखेका पोस्टर र पम्प्लेट प्रदर्शन गरेका थिए।

अघिल्लो वर्षको २३ मंसिरमा उपत्यकावासीको धारामा मेलम्चीको पानी झरे पनि यस वर्ष पानी कहिले आउँछ कुनै टुंगो छैन।

मेलम्ची खानेपानी आयोजनाको मुख्य बाँध (हेडवर्क्स)सम्म पुग्ने बाटो हालसम्म निर्माण नभएका कारण मेलम्चीको पानी काठमाडौं झर्ने मिति धकेलिएको छ।

मेलम्चीमाथि बारम्बार राजनीतिक चलखेल भएकाे भन्दै काठमाडाैंवासीले चलखेल बन्द गरी तुरुन्त पानी सञ्चालन गर्न माग गर्दै विराेध र्याली निकालेका हुन्।

पुष २, २०८० सोमबार १३:०३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।