कोरोनाको सबभेरिएन्ट ‘जेएन वान’ बारे सजग रहन विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोनाको सबभेरिएन्ट ‘जेएन वान’ बारे सजग रहन विश्व स्वास्थ्य संगठनको आग्रह

काठमाडौं : विश्व स्वास्थ्य सङ्गठनले सदस्य राष्ट्रहरूलाई श्वासप्रश्वाससम्बन्धी रोगहरू र कोरोनाको नयाँ सबभेरियन्ट ‘जेएन वान’ बारे सजग रहन अनुरोध गरेको छ।

भाइरसले आफ्नो रूप परिवर्तन गरिरहेको बताउँदै डब्लुएचओले आफ्ना सबै सदस्य राष्ट्रहरूले यस्तो अवस्थामा कडा निगरानी राखेर रोगको फैलावटलाई रोक्न आग्रह गरेको छ। डब्ल्यूएचओले कोभिड–१९ मा संगठनको प्राविधिक नेतृत्व मारिया भान केरखोभको एक भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै यस्तो अपिल गरेकी हुन्।

उनले त्यस भिडियोमा श्वासप्रश्वाससम्बन्धी रोग सर्ने कारणहरू बताउनुका साथै त्यसबाट बच्न के–कस्ता सावधानी अपनाउनुपर्ने जानकारी पनि दिएकी छिन्।

मारिया भान केरखोभले सेयर गरेको पोस्टमा विश्वमा श्वासप्रश्वाससम्बन्धी रोगहरू निरन्तर बढिरहेको बताएकी छन्। जसमा कोरोना भाइरस, फ्लू, राइनो भाइरस, माइकोप्लाज्मा निमोनिया र अन्य रोगहरू पर्छन्। सार्स कोभ २ ले आफूलाई निरन्तर परिवर्तन गरिरहेको छ।

कोरोनाको सबभेरियन्ट जेएन वान पनि फैलिरहेको छ। जाडो मौसममा मानिसहरू घरभित्रै बढी समय बिताउने केरखोवेले बताइन्। यस्तो अवस्थामा घरमा भेन्टिलेसनको अभाव भएमा रोग फैलने खतरा रहेकाले यसतर्फ पनि आमा मानिसलाई ध्यान दिन आग्रह गरिन्।

अहिले पनि कोरोना भाइरस फैलिरहेको र ६८ प्रतिशत कोरोना संक्रमित सबभेरियन्ट जेएन १ बाट भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनले सदस्य राष्ट्रहरूलाई मास्क र सामाजिक दूरीसम्बन्धी नियमहरू लागू गर्न र कडा अनुगमन गर्न पनि आग्रह गरेको छ।

पुष २, २०८० सोमबार ११:४६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।