पहिचानका लागि देशभरका थारू एक हुनुपर्छ : पूर्वमन्त्री चौधरी

पहिचानका लागि देशभरका थारू एक हुनुपर्छ : पूर्वमन्त्री चौधरी

काठमाडौं : पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले थारू समुदायको बृहत्तर हक अधिकार र उत्थानका लागि देशभरका थारू समुदाय एकजुट हुनुपर्ने बताएकी छन्।

सुनसरीको गढी गाउँपालिकामा थारू कल्याणकारिणी संस्था (थाकस) सुनसरीको ९ औं जिल्ला अधिवेशनमा बोल्दै संघीय सांसद समेत रहेकी चौधरीले थारू कल्याणकारी संस्था स्थापना भएको ७५ वर्ष भइसक्दा पनि समयअनुसार चल्न नसकेको बताइन्।

थारू समुदायलाई राज्यका सबै अङ्गहरूमा पहुँच स्थापित गर्न र योग्य नेतृत्व पहिचान गरी अगाडि बढाउन थाकसले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै सांसद चौधरीले राजनीतिमा पनि थारूहरूको उपस्थिति बढाउँदै लैजानुपर्ने बताइन्।

‘थाकसको पहिलो दायित्व भनेको आफ्नो भाषा, संस्कार, संस्कृति र पहिचानको संरक्षण गर्नु हो। दोस्रो राजनीतिक, आर्थिक र सामाजिक रूपमा थारूहरूलाई सक्षम र योग्य बनाउनु हो। यस कार्यमा थाकस देशभर प्रभावकारी रूपमा अगाडी बढ्नु अपरिहार्य छ’ उनले भनिन्।

उनले राज्य सत्तामा थारू समुदायको उपस्थिति बढाउन सकेमात्र थारू समुदायको हक अधिकार सुनिश्चित हुने जिकिर गरिन्।

उनले संविधानमा थारूहरूको छुट्टै अधिकार सुनिश्चित गरेको जनाउँदै थारूहरूको विकास, उत्थानका लागि थारू आयोग, लोक सेवा आयोग जस्ता स्थानमा थारूहरूको सहभागिता सुनिश्चित गरेको भएपनि थारू जातिहरूको सहभागिता र उपस्थिति कमजोर रहेकोमा थाकसले राजनीतिक, सामाजिक, सांस्कृतिक रूपमा नेतृत्व जन्माउन लाग्नुपर्ने बताइन्।

पुष १, २०८० आइतबार १४:०७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।