अफगानिस्तानमा अफिम खेतीमा प्रतिबन्ध लाग्दा नेपाल समेत जोखिममा, अवैध खेतीमा म्यानमार पहिलो

अफगानिस्तानमा अफिम खेतीमा प्रतिबन्ध लाग्दा नेपाल समेत जोखिममा, अवैध खेतीमा म्यानमार पहिलो
गहुँ खेतीमा लुकाएर गरिएको अफिम खेती नष्ट गर्दै प्रहरी।

काठमाडौँ : म्यानमारले अवैध अफिम खेतीमा अफगानिस्तानलाई जितेको छ। हालै सार्वजनिक भएको संयुक्त राष्ट्र संघको प्रतिवेदन अनुसार अवैध अफिम खेतीमा म्यानमार पहिलो नम्बरमा पुगेको छ।

अवैध लागु औषधको कारोबारका लागि बदनाम लाओस र थाइल्यान्डको बिचमा रहेको म्यानमारमा जातिगत द्वन्द्व चर्किरहेको छ। त्यही द्वन्द्वको फाइदा उडाउँदै हेरोइन उत्पादनमा प्रयोग हुने अफिम उत्पादन बढेको हो। अहिले म्यानमारमा सैनिक शासन सक्रिय छ।

विपक्षी आन्दोलनकारीहरूले पिपुल्स डिफेन्स फोर्सेज् गठन गरेर सैन्य शासनविरुद्ध विद्रोह गरिरहेको छ। चिन र थाइल्यान्डसँग जोडिएको सैन राज्यमा रहेकाहरू भने कुनै अभियानमा लागेका छैनन्। यो क्षेत्र अवैध लागुऔषध उत्पादनका लागि बदनाम क्षेत्र समेत हो।

उता सत्तामा आएपछि तालिवानले सन् २०२२ अप्रिलबाट अफगानिस्तानमा अफिम खेतीमा प्रतिबन्ध लगायो। अवैध अफिम खेतीको मुख्यसुत्रले नै प्रतिबन्ध लगाएपछि अफगानिस्तानमा अफिम खेती घट्न थाल्यो।

सन् २०२२ को संयुक्त राष्ट्र संघको प्रतिवेदन अनुसार त्यो वर्ष अफगानिस्तानमा ६ हजार २ सय टन मात्र अफिम उत्पादन भएको थियो। सन् २०२३ मा आएर यो तीन सय ३३ टनमा पुग्यो।

उता म्यानमारमा भने अफिम खेती बढ्न थाल्यो। सन् २०२२ मा म्यानमारमा ७ सय ७५ टन अफिम खेती भएकोमा सन् २०२३ मा यो बढेर एक हजार ८० टन पुगेको छ।

अफिमको मुख्यस्रोत अफगानिस्तानमा प्रतिबन्ध लागेपछि अफिमको भाउ आकासियो। अहिले किसानले अफिमको प्रतिकिलो ३ सय ५५ अमेरिकी डलर पाउने गरेका छन्।

सन् २०२२ को मूल्यको आधारमा यो ७५ प्रतिशत भाउ बढेको हो। अफिमको भाउ बढेपछि उता म्यानमारमा यसको खेती बढ्यो।

सरकारले वैकल्पिक खेतीको माध्यमबाट अफिम खेती घटाउने प्रयास गरे पनि सफल हुन सकेको छैन। गोल्डन ट्रायंगल क्षेत्रको रूपमा परिचित म्यानमारमा अहिले अफिमसँगै सिन्थेटिक ड्रग्स. अवैध हतियार अनि मानव तस्करीको केन्द्र समेत बन्दै गएको छ।

नेपालमा समेत बढ्दै अवैध अफिम

नेपालमा समेत पछिल्लो समय अवैध अफिम खेतीकोक्रम बढेको छ। प्रहरीले बारम्बार अवैध रूपमा लगाएको अफिम खेती नष्ट गर्ने गरेको छ।

नेपालमा बढ्दो अफिम खेतीकोक्रमलाई अफगानिस्तानमा लागेको प्रतिबन्धसँगै भारतमा वैध उत्पादनको आवरणमा हुने अवैध खेतीमा सरकारले गरेको कडाइलाई समेत हेरिएको छ।

लागुऔषध सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय कार्यालयले हरेक वर्ष निकाल्ने प्रतिवेदनमा नेपालको वातावरण अफिम खेतीका लागि उपर्युक्त रहेकाले यहाँ अवैध अफिम खेती बढ्न सक्ने भन्दै चिन्ता व्यक्त हुने गरेको छ।

नेपालको तराई अनि सुदूरपश्चिम क्षेत्रमा हरेक वर्ष सुरक्षाकर्मीहरूले अवैध रूपमा गरिएको अफिम खेती नष्ट गर्दै आएको छ। नेपालमा भइरहेको अफिमको अवैध खेतीमा भारतीय समूहको संलग्नता समेत बढ्दो क्रममा देखिन्छ।

मंसिर ३०, २०८० शनिबार २२:२८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।