एकल निर्णयबाट पार्टी पदाधिकारी नियुक्त गरेका रविले भने' हामी टिका लगाउने प्रथामा विश्वास गर्दैनौँ'

एकल निर्णयबाट पार्टी पदाधिकारी नियुक्त गरेका रविले भने' हामी टिका लगाउने प्रथामा विश्वास गर्दैनौँ'

काठमाडौँ : हालै मधेसमा सम्पन्न पार्टीको केन्द्रीय समिति अनि संसदीय दलमा गरेको व्यवहारका कारण आलोचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना कमजोरी औँल्याउनेहरूलाई भ्रम फैलाउने कारखानाको संज्ञा दिएका छन्।

केन्द्रीय समिति र संसदीय समितिको बैठकमा पार्टीको अनुशासन विभागको प्रतिवेदन सार्वजनिक नगरी लुकाउने, पार्टी पदाधिकारीकारीको सङ्ख्या आफूखुसी बढाएर आफू निकटकालाई प्रमोसन गर्दै टिका लगाउँदा लामिछानेको आफ्नै पार्टीभित्र र बाहिर आलोचना बढिरहेको छ। उनकै पार्टीका नेताहरूले सामाजिक सञ्जालमा समेत पार्टीको प्रजातान्त्रिक पद्धतिमाथि प्रश्न उठाइरहेका छन्।

केन्द्रीय समिति र संसदीय समितिको बैठकबाट विधान संशोधनै नगरी लामिछानेले पार्टी उपसभापति, सहमहामन्त्री, सह-कोषाध्यक्ष लगायतका पद निर्माण गरेर आफू ग्यालेक्सीमा काम गर्दाका सहकर्मीहरूलाई प्राथमिकता दिँदै प्रमोसन गराएका थिए। पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई मन्त्री बनाउन पार्टीभित्रको रविको कोर टिमका सदस्यहरूले पैसा मागेको बारेको आरोपको अनुसन्धानबाट के निष्कर्ष आयो सो सार्वजनिक गरेका छैनन्।

पार्टीका तत्कालीन केन्द्रीय सदस्य तथा मधेसमा भएको केन्द्रीय समितिबाट प्रमोसन पाएर सह-कोषाध्यक्ष भएका लामिछाने निकट दीपक बोहरामाथि पार्टीकै नेतृबाट यौन दुर्व्यवहारको आरोप लागेकोबारे छानबिन भएको विषय पार्टीका केन्द्रीय सदस्यहरूलाई समेत पढ्न दिइएको छैन। सो सार्वजनिक हुने भएपछि प्रतिवेदन गोप्य राखिएको छ।

अनुशासन आयोगको प्रतिवेदन आफ्नै पार्टीका सांसद र नेताहरूलाई संक्षेपमा पावरपोइन्टबाट देखाएका रास्वपा पार्टी सभापति लामिछानेले शनिवार काठमाडौँ क्षेत्र नम्बर ९ मा आयोजित सभामा आफू विरुद्ध भ्रम फैलाउने कारखानाहरू रहेको र उनीहरूले फैलाउने भ्रमको उत्तर दिन आवश्यक नरहेको तर्क गरे।

सभामा उनले पार्टीका कुनै दोषी देखिए कारबाही गर्न ७२ घण्टा नलगाउने दाबी त गरे तर घुस काण्ड र यौन दुर्व्यवहार लगायतका गम्भीर आरोप लागेकाहरूबारे पार्टीले गरेको छानबिनको निष्कर्ष सार्वजनिक किन नभएको त्यसमा प्रवेश गरेनन्। 

पार्टीको केन्द्रीय समितिको अधिकार सभापतिमा लिएर पदाधिकारीहरू एकलौटी नियुक्त गरेका लामिछानेले शनिवार योग्य मान्छे बोकेर हिँडेको, देश विदेशबाट मानिएका र चुनिएका व्यक्ति लिएर हिँडेको र टिका लगाउने प्रथामा विश्वास नभएको दाबी गरेका थिए।

पछिल्लो समय सरकारमा जान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग ब्रेकफास्ट मिटिङ गरेका लामिछानेले सो सभामा' राजनीतिको दाउपेचमा लिनुदिनु नभएको' दाबी समेत गरे।

एमाले र प्रसाईँको शक्तीप्रदर्शनप्रति व्यङ्ग्य

पछिल्लो समय राजतन्त्रको पक्षमा दुर्गा प्रसाईँले प्रदर्शन गरेका थिए। अहिले एमाले राजनीतिकअयात्रामा छ। शनिवारको कार्यक्रममा उनले आफ्नो पार्टी शक्ति प्रदर्शनमा भन्दा विवेक प्रदर्शनमा विश्वास गर्ने दाबी गर्दै हिजोआज भिडप्रति पनि विश्वास लाग्न छाडेको बताए। रास्वपाले शक्ति प्रदर्शन गर्दा कम्तीमा पनि क्यामरा खिच्न भ्याउने भिड जम्मा गर्न सकिने बताउँदै उनले भने' जसले बोलाए पनि मानिसहरू आउने देखिएकै छ। देश बिगार्नेलाई पनि जिन्दाबाद भनेका छन्, नयाँलाई पनि जिन्दाबाद भनेकै छन्। बर्सौँ चुसेकाहरूको पछाडि पनि हाम्रो भन्दा धेरै भिड देखिन्छ। त्यसैले अहिले मलाई भिडदेखि डर लाग्न थालेको छ।'

'२०८४ मा अन्य दलको आँखा लाग्यो'

सीमित समर्थकहरू रहेको सभामा सम्बोधन गर्दै उनले रास्वपाले अगाडि बढाएको मिसन २०८४ मा अन्य दलहरूले आँखा लगाउँदा अहिले यो सुन्नै मन नलाग्ने शब्द भएको बताए।

उनले त्यसको विकल्पमा अब आफूहरूले संसद्को शपथ खाएको एक वर्ष पुगेको दिन मिसन ८० घोषणा गर्ने बताए। उनले पुराना दलहरूलाई मिसन ८४ भन्ने हो भने २०८४ सम्म रास्वपालाई सरकार चलाउन दिन आग्रह गर्दै यदि त्यसो भएमा २०८४ मा पार्टीका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गर्ने तर प्रचारमा नहिँडी निर्वाचन जिताएर देखाइदिने दाबी समेत गरेका थिए।

अरुमाथि प्रश्न तर आफूमाथिको प्रश्नको उत्तर छैन 

कानुनी शासनको पक्षमा वकालत गर्ने रवि आफैँले भने राजनीतिमा नआउँदा र आइसकेपछि पनि कानुनलाई पटक-पटक चुनौती दिँदै आएका छन् नै। पहिलो पटक प्रतिनिधि सभाको निर्वाचनमा सहभागीहुँदा निष्क्रिय नागरिकता प्रयोग गरेको सर्वोच्च अदालतको संवैधानिक इजलासबाट पुष्टि भएका लामिछानेले सरकारलाई समर्थन दिने सर्तमा आफ्नो नागरिकता दुरुपयोगविरुद्धको प्रहरी उजुरीमा महान्यायाधिवक्ता कार्यालयमार्फत मुद्दा नचल्ने निर्णय गराएका थिए।

अमेरिकी नागरिक बन्दा कानुनले तोकेको प्रक्रिया अनुसार नेपाली नागरिकता नत्यागेका उनी नेपाल फर्किएर त्यही नागरिकता प्रयोग गरेर दल दर्तादेखि उम्मेदवार बन्नेसम्मका काम गरेका थिए।

उनको अमेरिकी नागरिक बने पनि आफूले नेपाली नागरिकता नत्यागेको र अमेरिकी नागरिकता छाडेपछि स्वतः नेपाली नागरिकता सक्रिय हुने भन्दै उनको नागरिकताको वैधताबारे प्रश्न उठाउनेहरूलाई भ्रम फैलाएको आरोप लगाउने गरेका थिए। तर सर्वोच्चबाटै उनको नागरिकता निष्क्रिय ठहरियो। 

अमेरिकी नागरिकको रूपमा अमेरिकी राहदानीसँगै नेपालमा नातेदार भिसामा आएर उनले राहदानी विभागबाट नेपाली नागरिक भएको भन्दै झुक्क्याएर नेपाली राहदानी समेत निकालेका थिए।

राजनीतिक दाउपेचको बलमा उनले राहदानी दुरुपयोगको मुद्दा अदालत लैजान दिएनन्। माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिने दिन उनले 'नेपाली राहदानी लिए पनि दुरुपयोग नगरेको' भन्दै महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचल्ने निर्णय आएपछि रास्वपाले सरकारलाई विश्वासको मत दिएको थियो।

महान्यायाधिवक्ता कार्यालयको सो निर्णयविरुद्ध परेको रिट अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन रहेको छ। 

मंसिर ३०, २०८० शनिबार २०:४७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।