पलले सफाइ पाएपछि सार्वजनिक भएका प्रमाण जसले सर्वोच्चको सुनुवाइबाट उनलाई जेल फर्काउन सक्छ

पलले सफाइ पाएपछि सार्वजनिक भएका प्रमाण जसले सर्वोच्चको सुनुवाइबाट उनलाई जेल फर्काउन सक्छ

काठमाडौँ : पीडित अनि जाहेरवालाले मौकामा गरेको कागजलाई अदालतको बकपत्रमा अस्वीकार गरेको भन्दै उच्च अदालत पोखराको नाबालिग बलात्कारको अभियोगबाट पल शाहलाई सफाइ दिने फैसलालाई सर्वोच्च अदालतले त्रुटि देखाउँदै दोहोर्याएर हेर्न अनुमति दियो।

सरकारी पक्षबाट परेको पुनरावेदनका आधारमा न्यायाधीश सुष्मालता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले दिएको आदेशबाट पल शाहमाथि लागेको नाबालिग बलात्कारको मुद्दा सर्वोच्चमा ब्यूँतिएको छ।

मंसिर २२ गते सर्वोच्चको संयुक्त इजलासबाट आएको आदेशमा उच्च अदालतको आदेशमा मुख्य तीन व्याख्यात्मक त्रुटी देखाउँदै शाहलाई सफाइ दिन अदालतले टेकेको मुख्य आधारमाथि नै प्रश्न उठाएको छ।

आदेशमा पहिला प्रमाण ऐन २०३१ को दफा ३ र ५४ मा रहेको व्यवस्था प्रतिकूल भएको उल्लेख गरेको छ।

ऐनको दफा ३ मा 'अदालतले मुद्दामा ठहर गर्नुपर्ने कुरा र त्यस्तो कुरासँग सम्बद्ध कुराको मात्र प्रमाण बुझ्नुपर्ने' उल्लेख छ।

सोही दफाको स्पष्टीकरणमा  'सम्बद्ध कुरा भन्नाले मुद्दामा ठहर गर्नु पर्ने कुरालाई प्रमाणित वा खण्डन गर्न सहायता हुने कुरालाई सम्झनु पर्छ' भनेर उल्लेख गरेको छ।

सोही ऐनको दफा ५४ मा 'बुझ्नुपर्ने प्रमाण नबुझिएमा वा बुझ्न नहुने प्रमाण बुझिएमा त्यसको परिणाम बुझ्नुपर्ने प्रमाण नबुझिएको वा बुझ्न नहुने प्रमाण बुझिएको कारणले मात्र अदालतको कुनै फैसला वा आदेश बदर हुने छैन' लेखिएको छ।

सोही दफामा 'तर बुझ्नु पर्ने प्रमाण नबुझिएको वा बुझ्न नहुने प्रमाण बुझिएको कारणले निर्णयमा असर पर्न गएको रहेछ भने फैसला वा आदेश बदर हुने' उल्लेख छ। यसले शाहको मुद्दामा उच्च अदालतबाट बुझ्न नहुने प्रमाण नुझेको वा बुझ्नुपर्ने प्रमाण नबुझेर फैसला गरेको सर्वोच्चले संकेत गरेको छ।

आदेशमा मुलुकी अपराध संहिताको दफा २१९ को १ र २ को प्रावधान समेत उल्लेख गरिएको छ। मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा १ मा 'कसैले जबर्जस्ती करण गर्न हुँदैन' भन्ने उल्लेख छ।

उपदफा २ मा 'कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने' उल्लेख छ।

त्यही दफामा 'करकाप, अनुचित प्रभाव, डर त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मन्जुरीलाई मन्जुरी नमान्ने' उल्लेख छ। पल शाहविरुद्धको अभियोग नाबालिग बलात्कारको हो जसमा मञ्जुरीको कुनै कानुनी महत्व रहँदैन।

आदेशमा अडियो, मौकाको कागज, जाहेरी लगायतका पक्ष उल्लेख गरेको नै छ। सो आदेशको सबैभन्दा महत्त्वपूर्ण पक्ष नजिर समेत उल्लेख हुनु हो। आदेशमा नेपाल कानुन पत्रिका २०७५, अङ्क ११, निर्णय नम्बर १०१३२ मा प्रतिपादित सिद्धान्त उल्लेख गरिएको छ।

शाहको मुद्दा दोहोर्याइ हेर्ने आदेशमा उल्लेख भएको यो सिद्धान्त पीडितको पक्षमा सबैभन्दा बलियो देखिन्छ जुन लगभग शाहको मुद्दासँग धेरै हदसम्म मिल्छ।

यो मुद्दा जबर्जस्ती करणीसँग जोडिएको फैसला हो। कैलालीको घटनामा १७ वर्षकी युवती आफ्नो घरको कोठामा सुतिरहेको बेलामा असम्बन्धित कर्णबहादुर साउद मादक पदार्थ सेवन गरेर आएर करणी गरेको, प्रारम्भमा आफ्नै श्रीमान् ठानेर मौन रहेको तर श्रीमान् हैन भन्ने थाहा पाएपछि कराउँदा भागेको भन्दै बलात्कारको अभियोग लागेको थियो।

पीडित, घटनाको बेलामा घरमा रहेकी सासुको जाहेरी र बयानमा साउद घरमा आएको र करणी गरेको बताए पनि अदालतमा भने बयान बदलेर अस्वीकार गरेका थिए।

साउदले प्रारम्भमा घरमा गएर युवती मस्त निन्द्रामा भएको बेलामा करणी गरेको स्वीकार गरे तर प्रतिकार नगरेको दाबी गरे। पछि उनले बयान बदले।

२०६६ असार ४ को घटनामा प्रारम्भिक बयानमा करणी गरेको तर होहल्ला नभएको बताएको तर पछि नगरेको भने पनि अपराधबाट उन्मुक्ति नपाउने भन्दै कैलाली जिल्ला अदालतले साउदलाई ६ वर्ष कैद सजाय सुनायो।

मुद्दाबारे तत्कालीन पुनरावेदन अदालत दिपायलमा पुनरावेदनको निवेदन पर्यो। पुनरावेदनले पीडितले करणी भएको हैन भनेर कुनै कानुनी उपचार नखोजेको अवस्थामा जबर्जस्ती करण भएको र सतीत्व हरण भएको भनी ठहर गर्दा निजको सामाजिक मर्यादा हरण हुने र कानुन बमोजिम प्राप्त गर्न सकिने अन्य सुविधा र कानुनी हक अधिकारबाट वञ्चित हुने भन्दै सफाइ दियो।

सोही मुद्दाको पुनरावेदन सर्वोच्चमा आइपुग्यो। फैसला दोहोर्याइ हेर्दै तत्कालीन न्यायाधीश चोलेन्द्र शमशेर राणा र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले २०७४ फागुन १३ गते साउदलाई जबर्जस्ती करणीमा दोषी ठहर गर्यो।

सो फैसलामा अदालतले मुख्य दुई विषयको व्याख्या गर्दै साउदलाई दोषी ठहर गरेको थियो।

पहिलो : अदालतले बकपत्रको हकमा 'कुनै व्यक्तिले आफू कुनै अपराधबाट पीडित भएको भनी जाहेरी दिन्छ र सोको आधारमा राज्यको जिम्मेवार निकायहरूबाट अनुसन्धान र अभियोजन भई सक्षम अदालतसमक्ष मुद्दा समेत दायर भइसकेको अवस्थामा अदालतमा जाहेरी दिने व्यक्ति वा पीडितले प्रतिकूल बकपत्र गर्छ भने सोको आधारमा मात्र अपराध घटेको थिएन भनी निष्कर्षमा पुग्न नमिल्ने' व्याख्या गर्यो।

दोस्रो : 'घटना घटेको समय व्यतीत हुँदै जाँदा प्रतिवादीउपरको आक्रोश बिस्तारै मत्थर हुँदै जाने, प्रतिवादी र पीडितहरू एकै समाजमा बस्नुपर्ने, आर्थिक तथा सामाजिक कारण तथा कतिपय अवस्थामा पीडितलाई पर्याप्त मात्रामा सुरक्षा प्रदानसमेत गर्न नसक्दा पीडितले अदालतमा प्रतिकूल बकपत्र गर्न सक्छ र पीडितले प्रतिकूल बकपत्र गर्यो भन्दैमा अपराधीलाई आपराधिक दायित्वबाट उन्मुक्ती दिन नमिल्ने' व्याख्या गर्यो।

यी नै व्याख्याको आधारमा अदालतले मादक पदार्थ सेवन गरी पीडितको कोठामा गएर पीडितको श्रीमान् भएको झुक्यानमा पारेर करणी गरेको देखिएको, किटानी जाहेरी, पीडितले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान, प्रतिवादीले अधिकारप्राप्त अधिकारी तथा अदालतमा गरेको बयानलाई टेकेर साउदलाई दोषी ठहर गर्दै पाँच वर्ष कैद र २५ हजार जरिवानाको फैसला गरेको थियो।

शाहको मुद्दामा यो नजिक कति प्रभावकारी?

पल शाहको मुद्दा दोहोर्याउने आदेशमा संयुक्त इजलासले उल्लेख गरेका आधार र औंल्याएको त्रुटीले सर्वोच्चबाट उच्च अदालत पोखराको फैसला उल्टिने सम्भावना बलियो देखिन्छ।

सर्वोच्च पुगेको मुद्दा जिल्ला अदालत नवलपुरको फैसला उल्टाउने उच्च अदालत पोखराको फैसलाविरुद्ध हो। जिल्ला अदालत तनहुँले पनि शाहलाई बलात्कार अभियोगमा सफाइ दिएको थियो। त्यसको पुनरावेदन उच्चमै छ।

नवलपुरको फैसलामा उच्च अदालतले जे-जे आधार उल्लेख गरेर सफाइ दिने फैसला गरेको थियो र आदेशमा जे-जे त्रुटी औँल्याइएको छ त्यसको आधारमा उच्च अदालतको फैसला उल्टिने सम्भावना देखिन्छ।

पल शाहले विवाहको प्रलोभनमा पारेर पटक-पटक यौन दुर्व्यवहार र बलात्कार गरेको भन्दै पीडित परिवारका सदस्यले जिल्ला अदालत तनहुँ र त्यसपछि नवलपुरमा जाहेरी दिए। जाहेरीसँगै मौकाको कागजमा समेत पीडित पक्षले यसलाई स्वीकार गरेको थियो।

प्रारम्भमा जिल्ला अदालत तनहुँले अभियोगमाथि लामो व्याख्या र विश्लेषण गर्दै शाहलाई पुर्पक्षका लागि थुनामा पठायो। उता नवलपुरले पनि उनलाई पुर्पक्षका लागि थुनामै पठायो।

पहिला तनहुँमा मुद्दा दर्ता भए पनि फैसला भने नवलपुरको आयो। नवलपुरमा एक गीतको म्युजिक भिडियो निर्माणकोक्रममा बसेको रिसोर्टको कोठामा शाह मादक पदार्थ खाएर आएर दुई पटक करणी गरेको दाबी थियो।

प्रारम्भिक बयानमा शाहले मादक पदार्थ सेवन पनि गरेको अनि नाबालिग बसेको कोठामा पनि गएको स्वीकार गरे पनि बलात्कार गरेको स्विकारेनन्। उनले अघिल्लो रात डराएकाले हालखबर सोध्न गएको र आफ्नो कोठामा फर्किएको दाबी गरेका थिए।

पछि उनले त बयान बदले नै पीडित किशोरी, जाहेरीकर्ता अनि दुर्गेश थापा लगायतकाले पनि बयान बदले।

पीडित युवतीले अदालतमा 'मौकामा गरेको कागजको ब्यहोरा झुटो भएको, शाहको फ्यान भएको, कुनै नराम्रो सम्बन्ध नभएको, मिडियामा नराम्रो कुरा आएपछि बुबाले सहन नसकी जाहेरी दिएको दाबी गरिन्।

उनले प्रमाणको रूपमा पेस भएको अडियोमा भएको आवाज पल र आफ्नो भए पनि रिहर्सलको भएको दाबी गरेकी थिइन्।

पीडितको शारीरिक परीक्षण प्रतिवेदनमा 'योनिको कन्याजालीमा निको भइसकेको पुरानो दाग देखिएको तर योनिको कन्याजालीमा दाग देखिनुको कारण साइकल चलाउँदा, रुख चढ्दा, भलिबल फुटबल खेल्दा, दौडँदा, उफ्रँदा, शारीरिक सम्पर्क गर्दा, हस्तमैथुन गर्दा पनि हुन्छ' भन्ने उल्लेख थियो।

यसमा पीडितले आफूले गाउँमा घाँस-दाउरा गर्ने र साइकल चलाउने र सिकाउने गरेको समेत बताइन्। पहिला पीडितलाई सहयोग पुग्ने मौका कागज गरेका दुर्गेश थापा, काजिश श्रेष्ठ लगायतले बयान बदले।

अनि नवलपुरले शारीरिक सम्पर्कबाट कन्याजाली च्यातिएको भन्न पीडितले साइकल चलाउने र अरूलाई सिकाउने बयानबाट खण्डित भएको, अभियोगमा गरेको दाबी बाहेक अन्य बस्तुनिष्ठ प्रमाण नभएको भन्दै बलात्कारमा सफाइ दियो।

तर अडियोको आधारमा बाल यौन दुरुपयोग गरेको ठहरिएको भन्दै दुई वर्ष ६ महिना कैद र १० लाख जरिवाना सुनायो।

 उच्च अदालत पोखरामा शाहको पुनरावेदन पर्यो। यहीबिचमा जिल्ला अदालत तनहुँले फैसला सुनाउँदै ' पीडित र जाहेरीकर्ताले बयान बदलेको' आधारलाई बलियो प्रमाणको रूपमा स्वीकार गर्दै बलात्कार अभियोगबाट सफाइ दिइसकेको थियो।

यता उच्च अदालतमा शाहसँगै सरकार पक्षबाट समेत नवलपुरको फैसलाविरुद्ध पुनरावेदन परेको थियो।

उच्च अदालतले पनि पीडित र जाहेरीकर्ता पीडितको बाबुको बदलिएको बयान, पीडितको पक्षमा बयान दिएका योगेश शाह र दुर्गेश थापाले प्रहरीले तयार गरेको कागजमा हस्ताक्षर गरेको तर त्यसमा के लेखेको छ थाहा नभएको भनेर दिएको बयान, चिकित्सकको रिपोर्टमा कन्याजालीमा घाउको दाग देखिएको तर दाग कुन कुन गतिविधि गर्दा देखिन्छ भनेर गरेको व्याख्या र दुई मिनेट ३५ सेकेन्डको अडियोलाई शाहको पक्षमा व्याख्या गर्यो।

नवलपुरले सुनाएको सजायको पुनरावेदनमा उच्चले सुनुवाइ गरेको थियो। नवलपुरले बलात्कार पुष्टि हुनसक्ने आधारहरूलाई अस्वीकार गरे पनि प्रमाणको रूपमा पेस भएको अडियोको कुराकानीलाई आधार बनाउँदै कलाकार भएर बाल यौन दुरुपयोग गरेको ठहर गरेको थियो। उच्चले त्यही अडियोमा जोड दियो।

अडियोमा 'उ प्रेग्नेन्ट भएको भए... मैले गर्दा प्रेग्नेन्ट भएको भए... समस्या भएको भए वा बच्चा भएको भए कुरा मिल्यो। बिहे स्विकार्ने कि नस्विकार्ने. अब गर्लफ्रेन्ड ब्वायफ्रेन्डमा अरूको बाहिर हेर्नुस् अब अहिले यदि छ...कान्छी गर्लफ्रेन्ड ब्वायफ्रेन्डमा अरूको बाहिर हेर्नुस् अब अहिले यदि छ... कान्छी गर्लफ्रेन्डमा अण्डरस्ट्यान्डिङ हिसाबमा हुँदा पनि लास्टमा स्विकार्नै पर्छ...विवाह गर्नै पर्छ'भन्ने संवाद थियो।

त्यसबारे पीडितले फिल्म रिहर्सलमा लागि बोलिएको दाबी गरिन्। उता शाहले स्वर आफ्नो भएको तर सम्पादन गरेको दाबी गरे। यसमै विरोधभाष देखियो।

तर अदालत यो विरोधभाषतिर प्रवेश गरेन। न त उसले यो सम्पादन भएको अडियो हो या हैन वा रिहर्सल भएको भए कुन फिल्मको लागि भएको हो भन्ने पक्षतिर  प्रवेश गर्न चासो पनि दिएन। किनकी अडियोको संवादको विस्तृत अनुसन्धान गरेको भए पीडित र पीडक दुवैको दाबी झुटो प्रमाणित हुनसक्ने जोखिम थियो।

अनि अदालतले अडियोलाई 'शंकारहित रूपमा स्वीकार गर्न सक्ने देखिएन' भन्दै बलात्कारसँगै बाल यौन दुरुपयोगको सजायबाट पनि सफाइ दियो। पल शाह छुटे। 

बयान बदल्ने पृष्ठभूमि

यो घटना जसरी सार्वजनिक भयो त्यही बेलामा नै पलले किशोरीलाई विवाहको प्रलोभनमा पारेर सम्बन्धमा बसेको र उनले विवाह नगर्ने पक्का भएपछि किशोरी कानुनी कारबाहीको प्रक्रियामा गएको देखिएको थियो।

घटनाक्रम त्यस्तै थियो। पीडित जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिने तयारीमा रहँदा काठमाडौँदेखि पल शाहको पक्षबाट पत्रकार पुगेर उनलाई प्रलोभनमा पारेर जाहेरी दिनबाट रोकेको पुष्टि भएको थियो। पीडितको परिवार प्रहरी कार्यालयमा पुगेर छलफल गरेर पछि जाहेरी दिन आएका थिएनन्।

त्यही बेलामा पलले अभिनय गरेको म यस्तो गीत गाउँछु-२ रिलिजको चरणमा थियो। फिल्म निर्माण टिम किशोरीलाई फकाउन व्यस्त थियो। नाबालिगले कतै पलको विपक्षमा अन्तर्वार्ता दिए लगत्तै रातारात पुन पल र किशोरीले सँगै केही नभएको भन्दै अन्तर्वार्ता दिएको भिडियो राखियो। उनलाई होस्टायल बनाइयो। पलका समर्थकको बिनाअनुमति कतै हिँड्न नसक्ने बनाइयो।

फिल्म क्षेत्रका प्रभावशालि कलाकार, फिल्मी पत्रकार लगायतकाहरु किशोरीलाई रोक्न सक्रिय हुँदाहुँदै उनी परिवारसहित पहिला तनहुँ  पछि नवलपुर पुगेर जाहेरी दिएकी थिइन्।

जाहेरीपछि पनि पललाई लुकाउने, पलको पक्षमा माहौल बनाउन उही पुरानै समूह सक्रिय भएका थिए। तर पल लामो समय लुक्न सकेनन्। उनी आफैँ तनहुँ प्रहरीमा पुगे। तनहुँ अदालतको थुनछेकबाट धरौटीमा रिहा हुने उनीहरूको प्रयास सफल भएन। अदालतबाट गम्भीर व्याख्यासहित पुर्पक्षमा राख्ने आदेश आएपछि सोही समूह पुन नाबालिग र उनको परिवार फकाउन सक्रिय भयो।

एकाएक पीडित किशोरीसहितको बयान बदलियो। बदलिएको बयानमा टेक्दै नवलपुरले बलात्कारमा सफाइ दियो भने बाल यौन दुरुपयोगमा दोषी ठहर गर्यो। तनहुँबाट सफाइ पाए। नवलपुरको फैसलाविरुद्द उच्च अदालत गएका पलले बाल यौन दुरुपयोगमा पनि सफाइ पाए। 

पल छुटेपछि सार्वजनिक भएका प्रमाण

पल छुटेपछि आफ्नो इमेज बिल्डअपमा सक्रिय भए। उता पीडित किशोरी पनि आफ्नो क्षेत्रमा सक्रिय हुने प्रयासमा लागिन्। उनी आफ्नो क्षेत्रमा बलियोसँग फर्किसकेकी छिन्।

हिजोका दिनमा उनले साहसगर्दा स्याबासीको साटो जसरी गाली खाइन् अहिले माहौल बदलिइसकेको छ। उनी पुन व्यस्त हुन थालेकी छिन्। आत्मबल बलियो देखिन्छ।

यो बीचमा उनले केही मिडियामा अन्तर्वार्ता पनि दिइन्, जुन अन्तर्वार्ता उनले आफूमाथि अपराध हुँदाहुँदै पनि बयान बदल्न बाध्य भएको स्विकारेकी छिन्। त्यो सर्वोच्चको सुनुवाइमा सबैभन्दा ठूलो प्रमाण हुनसक्छ।

उनले एपीवान टेलिभिजन अनि न्युज२४ मा दिएको अन्तर्वार्तामा प्रस्टै 'आफू पीडित हुँदाहुँदै पल जीवनभर जेलमा बस्नुपर्ने भएकाले बयान बदलेको' खुलाएकी छिन्। अर्थात पलले विवाह गर्छु भनेर करणी गरेका हुन्। तर यो अपराधमा यति लामो समय जेल पर्छन् भन्ने थाहा थिएन। पलको जीवन जेलमै कट्ने देखेपछि माया पलायो अनि उनले भएको घटना पनि हैन भनेर बयान दिइन्।

यस्तै सुनियो उनको अन्तर्वार्तामा। सात महिना अगाडि उनले रजतपटमा अन्तर्वार्तादिँदै पल शाहलाई (जेलबाट) निकाल्न आफू गलत हुनु बाहेक अर्को विकल्प नभएकाले बयान बदलेको स्विकारिन्।

उनको (पल शाह) टिमबाट हत्यासम्मको योजना बनेपछि आफ्नो सुरक्षाका लागि समेत जाहेरी दिएको भन्दै भनेकी छिन्' त्यो केसले यति ठूलो रूप लिन्छ भन्ने थाहा थिएन। म गलत छैन। उहाँको माया लाग्यो। मसँग अर्को अप्सन पनि थिएन।'

उनको अन्तर्वार्तामा पल जेलमै रहेको बेलामा उनीहरूबीच भेट भएको र भेटबाटै उनले बयान बदल्ने माहौल बनेको पुष्टि समेत हुन्छ।

'म आफैँ गलत भएर त उहाँलाई निकाल्न सम्भव भयो। मसँग आफू गलत हुनुबाहेक अर्को विकल्प थिएन' उनले भनेकी छिन्। अन्तर्वार्तामा उनले घटना सत्य भएको बताउँदै त्यसबारे उहाँ (पल) लाई समेत सोध्न भनेकी छिन्।

न्युज२४ सँगको अन्तर्वार्तामा उनले सो घटनापछि आफू र आफ्नो परिवारले भोग्नुपरेको पीडा सम्झँदै 'केटी मान्छे भएर अर्को जन्ममा जन्मन नपाऊँ म त' भन्दै रोएकी थिइन्।

उनले प्रमाण नभई कसैले कसैलाई फसाउन नसक्ने अनि आफू गलत भएको भए आफूलाई सजाय दिन भनेकी थिइन्। सर्वोच्च अदालतमा मुद्दाको पुन सुनुवाइमा नक्कली घटना हो या विभिन्न प्रभावले बयान बदलियो भन्ने पुराना प्रमाण त भयो नै यी दुवै भिडियो अन्तर्वार्ता समेत बलियो प्रमाण हुनसक्छन्।

सम्बन्धित समाचार

मंसिर ३०, २०८० शनिबार १६:०३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।