इजरायलको आक्रमणमा अल जजिराका क्यामेराम्यानको मृत्यु, परिवार गुमाउने पत्रकार पनि घाइते

इजरायलको आक्रमणमा अल जजिराका क्यामेराम्यानको मृत्यु, परिवार गुमाउने पत्रकार पनि घाइते
घाइते संवाददाता वेल अल-दहदौहको फाइल तस्बिर

एजेन्सी : इजरायल आक्रमणमा कतारको टेलिभिजन समूह ‘अल जजिरा’ एक प्यालेस्टिनी क्यामेराम्यानको शुक्रबार मृत्यु भएको छ। जबकि गाजाका प्रमुख संवाददाता घाइते भएका छन्।

दक्षिणी गाजास्थित खान युनुस शहरको एक विद्यालयमा इजरायली आक्रमणबारे रिपोर्टिङ गरिरहेका उनीहरूमाथि आक्रमण भएको थियो।

मारिएका क्यामेराम्यानको नाम समर अबु दक्का र संवाददाताको नाम वायल अल-दहदौह रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

दुवै जना विद्यालयमा इजरायली आक्रमणको रिपोर्टिङ गर्दै गर्दा अर्को ड्रोन आक्रमण हुँदा घटना घटेको अल जजिराले जनाएको छ।

रिपोर्टर दहदौहको हात र काँधमा गम्भीर चोट लागेको छ भने अबु डक्का रगतले लतपतिएको भुइँमा लडेका थिए।

अस्पतालको ओछ्यानमा सुतेका दहदौहले अल जजिरासँग आक्रमणपछि शरीरबाट रगत बगिरहे पनि भाग्न सक्षम भएको बताए।

उनका अनुसार उनले त्यहाँ उपस्थित एम्बुलेन्स कर्मचारीलाई क्यामेराम्यान अबु दक्का खोज्न भनेका थिए।

एम्बुलेन्स अबु दक्कालाई लिन विद्यालय गए पनि अवरुद्ध सडकका कारण सम्भव भएन र एम्बुलेन्स फर्कनुपरेको अलि जजिराले जनाएको छ।

सिभिल डिफेन्स टोलीले दक्काको शरीरबाट ठूलो रक्तस्रावका कारण मृत अवस्थामा फेला पारेको थियो।

खान युनिसका ४५ वर्षीय अबु दक्का जुन २००४ देखि अल जजिराका लागि काम गरिरहेका थिए। दक्काको मृत्युबारे इजरायली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

यसअघि अक्टोबरको अन्त्यमा घाइते पत्रकार दहदौकी श्रीमती, छोरा, छोरी र नातिको मृत्यु भएको थियो। अल जजिराले इजरायलले दहदौहको परिवारलाई जानाजानी निशाना बनाएको आरोप लगाएको थियो।

दहदौहलाई प्यालेस्टिनी जनताको अनुहार मानिन्छ। प्यालेस्टाइनको पीडा र कठिनाइहरू संसारलाई बताउनका लागि गाजामा उहाँलाई उच्च सम्मान गरिन्छ।

अहिलेसम्म ६४ पत्रकार मारिए
कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सका अनुसार अक्टोबर ७ मा हमास र इजरायलबीचको युद्ध सुरु भएयता अबु डक्कासहित ६४ पत्रकार मारिएका छन्।

मारिएका पत्रकारहरूमा ५७ प्यालेस्टिनी, चार इजरायली र तीन लेबनानी रहेका छन्।

अल जजीराले आफ्नो विज्ञप्तिमा अल जजिराका पत्रकार र उनीहरूका परिवारलाई व्यवस्थित रूपमा लक्षित गरी हत्या गरेकोमा इजरायललाई जिम्मेवार ठहर गरेको छ।

डिसेम्बरको सुरुमा अर्को आक्रमणमा अल जजीराका अर्को संवाददाता मोमेन अल शराफका बुबा, आमा र अन्य २० परिवारका सदस्यहरू मारिए।

मंसिर ३०, २०८० शनिबार १०:१६:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।