इजरायलले मार्यो हमासले बन्धक बनाएका आफ्नै तीन नागरिक

इजरायलले मार्यो हमासले बन्धक बनाएका आफ्नै तीन नागरिक

एजेन्सी : इजरायलले गाजामा हमासले बन्धक बनाएका आफ्नै तीन नागरिकलाई मारेको छ।

इजरायली सेनाका अनुसार गाजामा अपरेशनका क्रममा हमासले बन्धक बनाएका आफ्नै तीन नागरिक मारिएका हुन्।

उनीहरू गल्तीका कारण मारिएको सेनाले आफ्नो नियमित प्रेस ब्रिफिङमा बताएको छ।

सेनाका अनुसार इजरायलबाट बन्धक बनाएका २८ वर्षीय योतम हैम, २२ वर्षीय समीर तलाल्का र २६ वर्षीय एलोन शमरिज मारिएका हुन्।

सेनाले ‘खतरा’ महसुस गरेपछि उनीहरूलाई मारेको र पछि मात्र उनीहरू बन्धक भएको थाहा भएको सेनाले आफ्नो बचाउमा भनेको छ।

सेनाले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना समेत व्यक्त गरेको छ।

यी तीन इजरायली बन्धकलाई सेनाले उत्तरी गाजाको शेजैयामा गोली हानेका थिए। तीनै जनाको शव इजरायल लगिएको छ।

इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले शुक्रबारको घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

उसले आफूहरूको राष्ट्रिय मिसनमा अघि बढिरहेको बताउँदै बेपत्ता नागरिकलाई पत्ता लगाउनु र सबै बन्धकलाई इजरायल ल्याउनु आफूहरूको मुख्य लक्ष्य रहेको जनाएको छ।

हमासले ७ अक्टोबरमा इजरायलमा आक्रमण गरेपछि कयौं मानिसलाई बन्धन बनाएको थियो। त्यसमध्ये अझै १ सय भन्दा बढी गाजामा कैद छन्।

मंसिर ३०, २०८० शनिबार ०७:५६:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।