सुर्तीजन्य पदार्थ विक्रीमा काठमाडौँ महानगरले लगाएको रोक उच्चले खुलायो, मुद्दा किनारा नलागेसम्म बेच्न पाइने

सुर्तीजन्य पदार्थ विक्रीमा काठमाडौँ महानगरले लगाएको रोक उच्चले खुलायो, मुद्दा किनारा नलागेसम्म बेच्न पाइने

काठमाडौँ : सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने काठमाडौँ महानगरको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत, पाटनले अन्तरिम आदेश दिएको छ।

श्रीराम टोवाको उद्योगले दायर गरेको रिटमा सुनुवाइ गर्दै शुक्रवार उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले मुद्दाको अन्तिम टुङ्गो नलगेसम्म मंसिर १२ गतेको काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

सुर्ती, खैनी, गुट्खा, पान परागजस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउँदै महानगरले खुद्रा चुरोट बेच्न रोक लगाए थियो।

उद्योगहरूले सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा २०८१ वैशाख १ गतेदेखि अनिवार्य रूपमा जैविक रूपमा सडेर जाने बायो डिग्रिडेजद जैविक वस्तुमा प्याकिङको व्यवस्था मिलाउने नीतिगत सुधार गर्ने घोषणा गरेको र त्यसअनुसार प्याकिङको व्यवस्था मिलाउन थप लगानी र तयारी गरिएको दाबी गर्दै  महानगरको निर्णयविरुद्ध रिट दायर गरेका थिए।

उच्चले शुक्रवार काठमाडौँ महानगरपालिकाद्वारा २०८० मंसिर १२ मा जारी गरिएको सूचना रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्न नगराउनु विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरेको हो।

मंसिर २९, २०८० शुक्रबार १७:१३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।