एनसेल- धुलिखेल अस्पतालको सहकार्यमा चार सामुदायिक केन्द्रमा टेलिमेडिसिन, ८० हजारले पाए सुविधा
काठमाडौँ : एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा स्थापना भएको टेलिमेडिसिन सेवाबाट ८० हजारले स्वास्थ्य सुविधा पाएका छन्।
एनसेलले व्यावसायिक सामाजिक उत्तरदायित्त्व अन्तर्गत २०१९ मा धुलिखेल अस्पतालसँग सहकार्य गर्दै टेलिमेडिसिनमा सहयोग गर्दै आएको छ।
धुलिखेल अस्पतालले सिन्धुपाल्चोकको मानेखर्क, सोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलान्चोकको बोल्डेमा रहेका सामुदायिक स्वास्थ्य केन्द्रमार्फत कार्यक्रम सञ्चालन गरिरहेको छ।
दीर्घ, नसर्ने र सरुवा रोग लगायतका रोगहरूको स्वास्थ्य सेवा अन्तर्गत १५ हजार बढी घरधुरीका ८० हजार बढी स्थानीयवासीले गुणस्तरीय स्वास्थ्य सेवा पाएको एनसेलले दाबी गरेको छ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सो कार्यक्रमले एनसेलले समुदायको विकासमा पुर्याइरहेको योगदान उजागर हुने बताएको एनसेलको विज्ञप्तिमा उल्लेख छ।
यो व्यक्तिगत स्वास्थ्य कार्यक्रम रहेको र यस अन्तर्गत कार्यक्रम सञ्चालन भएका क्षेत्रका स्थानीयले व्यक्तिगत स्वास्थ्य सेवा पाउने र सामुदायिक स्वास्थ्य केन्द्रहरूले त्यहाँका स्थानीयको स्वास्थ्य सम्बन्धी नियमित जाँच र समयमा नै आवश्यक स्वास्थ्य उपचार गर्ने गर्दै आएका छन्।
'धुलिखेल अस्पतालका अनुसार काभ्रेको धुलिखेल नगरपालिका र पाँचखाल नगरपालिकाले पीएचपीलाई रेप्लिकेट गरेका छन्,' विज्ञप्तिमा भनिएको छ' अन्य नगरपालिकाहरुले यसको कार्यान्वयन गर्न चासो राखेका छन्। चारवटा सामुदायिक स्वास्थ्य केन्द्रहरूमा टेलिमेडिसिन सेवाको सफल सञ्चालनपछि बाग्मती प्रदेश सरकारले धुलिखेल अस्पतालसँगको सहकार्यमा दुईवटा ग्रामीण अस्पताल र तीनवटा स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवाको सोही मोडललाई कार्यान्वयनमा ल्याएका छन्।'
धुलिखेल अस्पतालका पब्लिक हेल्थ एन्ड कम्युनिटी प्रोग्राम डाईरेमक्टर डा. बिराज कर्माचार्यले एनसेल र धुलिखेल अस्पतालको सहकार्यले दूर दराजका समुदायहरूलाई स्वास्थ्य सेवाको पहुँच प्रदान गर्ने पद्धतिमा क्रान्ति नै ल्याएको बताएको विज्ञप्तिमा उल्लेख छ।
बाग्मती प्रदेश सरकारले धुलिखेल अस्पतालको सहकार्यमा रामेछापको मन्थली अस्पताल, रसुवाको जिवजिवे ग्रामीण अस्पताल, सिन्धुलीको लाम्पनटर प्राथमिक स्वास्थ्य केन्द्र, धादिङको सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र र नुवाकोटको खरानीटार प्राथमिक स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा रेप्लिकेट गरेको छ।
यी अस्पतालहरू र स्वास्थ्य केन्द्रहरूका लागि धुलिखेल अस्पतालले एक हब अस्पतालको रूपमा १ लाख ५० हजार भन्दा बढी स्थानीयहरूलाई टेलिमेडिसिन सेवा दिइरहेको छ।
सो सुविधा अनुसार दूर दराजका स्थानीहरूले नजिकैको स्वास्थ्य केन्द्रमार्फत धुलिखेलमा रहेका विशेषज्ञ डाक्टरहरूबाट स्वास्थ्य सम्बन्धी परामर्श लिन सक्छन्।
मंसिर २९, २०८० शुक्रबार १७:००:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।