युक्रेनलाई ५५ अर्ब डलर आर्थिक सहयोग गर्ने ईयूको प्रस्तावमा हंगेरीको भिटो

युक्रेनलाई ५५ अर्ब डलर आर्थिक सहयोग गर्ने ईयूको प्रस्तावमा हंगेरीको भिटो
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बान

एजेन्सी : हंगेरीले युक्रेनलाई युरोपेली संघ (ईयू)को सदस्य बनाउन वार्ता सुरू गर्ने निर्णयप्रति असहमति जनाएको छ।

साथै उसले युक्रेनलाई युरोपेली संघबाट ५५ अर्ब डलरको आर्थिक सहयोग गर्ने प्रस्तावमाथि भिटो प्रयोग गरेर रोकेको छ।

भिटो एक शक्तिशाली र महत्वपूर्ण अधिकार हो। जसले ईयूका सम्पूर्ण सदस्य राष्ट्र सहमत भए पनि भिटो अधिकार भएको राष्ट्रले उक्त अधिकार प्रयोग गरेर प्रस्ताव पारित हुनबाट रोक्न सक्छ।

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले सामाजिक सञ्जाल एक्समा युक्रेनलाई ईयूले दिने प्रस्तावमाथि भिटो प्रयोग गरेको बताए।

उनले लेखेका छन्, ‘हामीले युक्रेनलाई थप रकम भिटो लगायौं र MFF समीक्षामा भिटो लगायौँ।’

भिक्टर ओर्बानले भने, ‘हामी उचित तयारीपछि अर्को वर्ष युरोपियन काउन्सिलमा यस विषयमा फेरि छलफल गर्नेछौँ।’

ईयूले युक्रेन र मोल्डोभालाई ईयू सदस्यता प्रदान गर्न वार्ता सुरु गर्ने निर्णय गरेको केही घण्टापछि हंगेरीको यस्तो बयान आएको हो।

युरोपेली परिषद्(ईसी)ले युक्रेन र मोल्डोभालाई ईयू सदस्यता प्रदान गर्न वार्ता सुरु गर्ने निर्णय सर्वसम्मतिले गरेको जनाएको छ।

तर, मतदानको क्रममा हंगेरी बाहिरिएको थियो। हंगेरीले युक्रेनसँग वार्ता सुरु गर्न लामो समयदेखि विरोध गर्दै आएको छ।

मंसिर २९, २०८० शुक्रबार १३:४९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।