बालेनको कामबाट सकारात्मक उत्प्रेरणा पाएको छु, बालेन्द्रलाई बधाई छ : प्रधानमन्त्री दाहाल
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगरपालिकाले गरेको कामबाट संघीय सरकारलाई सकारात्मक उत्प्रेरणा प्राप्त गरेको बताएका छन्।
शुक्रबार महानगरको २९ औँ महानगर दिवस कार्यक्रममा उनले महानगर प्रमुख बालेन शाहको कामको प्रशंसा गर्दै उनले पछिल्लो समय महानगरपालिकाले उदाहरणीय काम गर्दै आएको बताए।
उनले भने, ‘पछिल्लो समय महानगरले गरेका प्रशंसनीय काम गम्भीर रुपमा नियालिरहेको छु, शिक्षाको विकास, संरचना निर्माण, कला, संस्कृतिको काम, सुर्तीजन्य पदार्थको नियमन, छात्रवृत्तिको पहल गरेको छ, यसबाट संघीय सरकारलाई समेत सकारात्मक उत्प्रेरण प्राप्त भएको छ, बालेन्द्रलाई बधाई छ, शुभकामना पनि छ।’
महानगरपालिकाले टुँडिखेलको सैनिक मञ्चमा २९ औँ महानगर दिवस मनाइरहेको अवसरमा प्रधानमन्त्री दाहालले काठमाडौं महानगरजस्तै अन्य स्थानीय तहहरूले पनि काम गर्न निर्देशन दिए।
‘यसका लागि म साथ सहयोग गर्न, निर्णय गर्नेमा सधैं सहयोग गर्न तत्पर छु, ’उनले भने।
मंसिर २९, २०८० शुक्रबार ११:५९:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।