युक्रेनलाई सदस्य राष्ट्र बनाउन प्रक्रिया थाल्ने ईयूको निर्णय, हंगेरीले विरोध गरे पनि लगाएन भिटो

युक्रेनलाई सदस्य राष्ट्र बनाउन प्रक्रिया थाल्ने ईयूको निर्णय, हंगेरीले विरोध गरे पनि लगाएन भिटो

एजेन्सी : युरोपियन युनियनले युक्रेन र मोल्दोवालाई युरोपियन युनियन(ईयू)को सदस्य राष्ट्र बनाउने प्रक्रिया थालेको छ।

ब्रसेल्समा आयोजित शिखर सम्मेलनमा ईयूका नेताहरूले दुई देशलाई सदस्य राष्ट्र बनाउन प्रक्रिया थाल्ने निर्णय गरेको हो।

यसका अलावा जर्जियालाई पनि सदस्य राष्ट्र बनाउने निर्णय सम्मेलनले गरेको छ। युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कील यसलाई ईयू र युक्रेन दुवैको जीतको संज्ञा दिएका छन्।

यसैबीच युरोपियन परिषद्का अध्यक्ष चार्ल्स मिशेलका प्रवक्ताले यो निर्णय सर्वसम्मत भएको बताएका छन्।

यद्यपि हंगेरीले लामो समयदेखि युक्रेनसँग गर्ने भनेको कुराकानीको विरोध गर्दै आइरहेको छ। तर उसले सम्मेलनको यो निर्णयमाथि विटो भने लगाएन।

मतदानको दौरान हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बन केही समयका लागि बैठक कक्षबाट बाहिरिएका थिए। त्यहि समयमा अन्य २६ देशका नेताहरूले मतदान गरेका थिए।

त्यसपछि हंगेरीका प्रधानमन्त्री ओर्बनले फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै युरोपियन युनियले गलत फैसला गरेको बताए।

‘युक्रेनलाई युरोपियन युनियनको सदस्य बनाउने खराब निर्णय हो। हंगेरी यो खराब निर्णयमा सहभागी हुन चाँहदैन। त्यसैले आज यो निर्णयबाट हामी टाढा रह्यौँ।’

उता युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युरोपियन युनियनको निर्णयपछि सामाजिक सञ्जालमा खुसी व्यक्त गर्दै युक्रेन र युरोपियन युनियन दुवैको जीत भएको बताए।

यसअघि २०२२ फेब्रुअरीमा रुसबाट युक्रेनमा आक्रमणपछि युक्रेन, मोल्दोवा र जर्जियाले युरोपियन युनियनमा सहभागी हुन आवेदन दिएका थिए।

त्यसपछि २०२२ जुनमा युक्रेन र मोल्दोवालाई उम्मेदवारको दर्जा दिइएको थियो।

मंसिर २९, २०८० शुक्रबार ०८:५९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।