पूर्वमन्त्री खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश

पूर्वमन्त्री खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ।

न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएको उच्च अदालत पाटनका प्रवक्ता उपरजिष्ट्रार तीर्थराज भट्टराईले जानकारी दिएका छन्।

गत असारमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न गरेको आदेशविरुद्ध खाँणका तर्फबाट पुनरावेदन दायर भएको थियो।

प्रवक्ता भट्टराईले भने, ‘उच्च अदालतबाट ३० लाख रूपैयाँ नगद धरौटी जमानत वा बैंक जमानत लिई तारिखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको छ।’ न्यायाधीश कोइरालाको इजलासमा खाणको निवेदनमाथि सुनुवाइ भएको थियो। पूर्वमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै पठाउने भन्ने बारे यसअघि संयुक्त इजलासमा दुई न्यायाधीशको राय बाझिएको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका २० जनाविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्धको अपराध र संगठित अपराधमा गत जेठ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

अदालतले गत असार १ गते १७ जनालाई थुनामा पठाएर ३ जनालाई धरौटी माग गरेको थियो।

मंसिर २८, २०८० बिहीबार १८:१०:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।