ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित

ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन्।

बिहीबार सम्पन्न बैँकको १७ औँ वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो।

साधारण सभाबाट संस्थापक सेयर धनीहरूमध्येबाट ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त तथा सर्वसाधारण सेयर धनीतर्फबाट नारायणप्रसाद पौडेल, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा सञ्चालक समितिमा निर्वाचित भएका हुन्।

नवनिर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैँकको गभर्नरबाट पद तथा गोपनियताको शपथ लिएपछि नवनिर्वाचित सञ्चालकहरूलाई शपथ गराउनेछन्।

यसअघि साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को कूल मुनाफाबाट बैँकले आफ्ना सेयर धनीहरूलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैँकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्दै आर्थिक बर्ष २०७९/०८० को कुल मुनाफाबाट बैँकले आफ्ना सेयर धनीहरूलाई प्रस्ताव गरेको बोनस सेयर तथा नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको छ।

बैँकले आर्थिक वर्ष २०७९/८० मा सञ्चालन मुनाफा १२ अर्ब ६९ करोड रूपैयाँ र कर पछिको मुनाफा ६ अर्ब ६९ करोड रूपैयाँ आर्जन गरेको थियो। प्रस्तावित बोनस सेयर वितरण पश्चात् बैँकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रूपैयाँ ८७ लाख पुग्नेछ।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैँकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक नेपाल सरकार एवं नेपाल राष्ट्र बैँकद्वारा घोषित नीतिहरूको परिपालन गर्दै आफ्ना सेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए।

उनले बैँकले आगामी दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरूप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताए।

आर्थिक बर्ष २०७९/०८० मा बैँकको खुद ब्याज आम्दानी तर्फ अघिल्लो वर्ष भन्दा ६ अर्ब ८१ करोड रूपैयाँले बृद्धि भएको छ। बैँकको खुद मुनाफामा अघिल्लो वर्षको तुलनामा ३४.९९ प्रतिशतले वृद्धि भई ६ अर्ब ६९ करोड रूपैयाँ कायम भएको हो। बैँकले सोही अवधिमा ४ खर्ब ३९ अर्ब रूपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै ३ खर्ब ७४ अर्ब रूपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ।

मंसिर २८, २०८० बिहीबार १७:५९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।