देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक, कात्तिक महिनामा महंगी ५.३८ प्रतिशत

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक, कात्तिक महिनामा महंगी ५.३८ प्रतिशत

काठमाडौं : चालू आर्थिक बर्षको चार महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचांकमा आधारित मुद्रास्फिति ५.३८ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फिति ८.०८ प्रतिशत थियो।

खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ६.०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फिति ४.८९ प्रतिशत रहेको छ।

त्यस्तै, खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३६.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४.५९ प्रतिशत, फलफूलको १४.०१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.०२ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.०० प्रतिशतले बढेको छ।

समीक्षा अवधिको चार महिनामा घ्यू तथा तेल र तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क क्रमशः १४.२३ प्रतिशत र ५.३५ प्रतिशतले घटेको छ।

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ।

आयात ३.८ प्रतिशतले गिरावट आउँदा निर्यात पनि ७.७ प्रतिशतले घटेको छ।

त्यस्तै, कुल वस्तु व्यापार घाटा ३.३ प्रतिशतले घटेको तथ्याङ्क छ। विप्रेषण आप्रवाह नेपाली रूपैयाँमा २६.४ प्रतिशतले र अमेरिकी डलरमा २३.१ प्रतिशतले बढेको छ। शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब ११ करोडले बचतमा रहेको छ।

कुल विदेशी विनिमय सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड र अमेरिकी डलरमा १२ अर्ब ७५ करोड छ। नेपाल सरकारको खर्च ३ खर्ब ५५ अर्ब ६३ करोड र राजस्व परिचालन २ खर्ब ७६ अर्ब ६४ करोड छ। विस्तृत मुद्राप्रदाय ३.७ प्रतिशतले बढेको छ।

वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको हो। बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.७ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा २.१ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.४ प्रतिशत रहेको छ।

२०८० कात्तिक महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फिति ६.०० प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ६.०७ प्रतिशत र हिमालको ८.७९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रको यस्तो मुद्रास्फीति क्रमशः ७.५६ प्रतिशत, ८.५२ प्रतिशत, ८.०३ प्रतिशत र ६.६८ प्रतिशत रहेको थियो।

थोक मुद्रास्फिति

२०८० कात्तिक महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फिति २.०९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फिति १०.०२ प्रतिशत रहेको थियो।

समीक्षा अवधिको चार महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फिति क्रमशः २.६३ प्रतिशत, १.७१ प्रतिशत र २.६७ प्रतिशत रहेको छ। समीक्षा अवधिको चार महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फिति १.०५ प्रतिशतले घटेको छ।

मंसिर २८, २०८० बिहीबार १५:२०:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।