भारतको संसद प्रकरण : सात जना निलम्बित, कडा बनाइयो सुरक्षा व्यवस्था

भारतको संसद प्रकरण : सात जना निलम्बित, कडा बनाइयो सुरक्षा व्यवस्था

एजेन्सी : बुधबार भारतीय संसदकाे सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै त्यहाँको लोकसभा सचिवालयले कम्तीमा सात जनालाई निलम्बन गरेको छ।

निलम्बनमा पर्नेहरूमा रामपाल, अरविन्द, वीर दास, गणेश, अनिल, प्रदीप, विमित र नरेन्द्र रहेका छन्।

बुधबारको घटनापछि संसद भवन र आसपासको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। संसद परिसर बाहिर प्रहरी ब्यारिकेडहरू जडान गरिएको छ।

बुधबारको घटनापछि आज गृहमन्त्री अमित शाह पनि संसद भवन पुगेका छन्।

गृह मन्त्रालयले घटनाकाे अनुसन्धानकाे लागि केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)का महानिर्देशक अनिश दयाल सिंहको अध्यक्षतामा छानबिन समिति गठन गरेको छ।

छानबिन समितिले संसदको सुरक्षामा भएको कमजोरी र त्यसको कारण पहिचान गरी छिट्टै सुधारका लागि मन्त्रालयलाई प्रतिवेदन बुझाउने बताइएको छ।

बुधबार लोकसभाको दर्शकदीर्घाबाट दुई जना व्यक्ति सांसद् बस्ने ठाउँमा हामफालेका थिए। उनीहरू सांसद् बस्ने कुर्सीमाथि हिँडिरहेका थिए भने भवनमा धुँवासमेत देखिएको थियो।

लगत्तै प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। यो घटनापछि विपक्षी दलका सांसदहरूले सरकारको चर्को आलोचना गर्दै संसद भवनमा गम्भीर सुरक्षा चुक भएको बताएका छन्।

मंसिर २८, २०८० बिहीबार १२:०३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।