इजरायलले भन्यो, ‘अवस्था जस्तोसुकै होस्, गाजामा युद्ध जारी रहन्छ’

इजरायलले भन्यो, ‘अवस्था जस्तोसुकै होस्, गाजामा युद्ध जारी रहन्छ’

एजेन्सी : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले विश्वव्यापी दवावले पनि हमासविरुद्धको युद्ध नरोकिने बताएका छन्।

सामाजिक सञ्जाल एक्समार्फत एक भिडियो सन्देश जारी गर्दै नेतन्याहूले आफूले यो युद्धलाई अन्तिमसम्म जारी राख्ने बताएका हुन्।

यस विषयमा कुनै पनि बहस र चर्चा आवश्यक नभएको भन्दै उनले अन्तर्राष्ट्रिय दवाव भए पनि इजरायल हमासलाई समाप्त पार्ने लक्ष्यमा रहेको बताए।

‘मैले फिल्डको कमाण्डरलाई भनेको कुरा यहाँ पनि स्पष्टसँग राख्न चाहन्छु, हामी यो लडाइँलाई अन्तिमसम्म जारी राख्छौँ र यस विषयमा कुनै सम्झौता हुँदैन। हाम्रा सैनिकहरूलाई गुमाउनुको ठूलो पीडा र अन्तर्राष्ट्रिय दवावका बीच म यो कुरा भन्दैछु।’

उनले अगाडि थपेका छन्, ‘हामीलाई कुनै पनि कुराले रोक्न सक्दैन, हामी अन्त्यसम्म लड्नेछौँ र जित्नेछौँ।’

यसअघि राष्ट्रसंघको महासभामा गाजामा युद्धविरामको प्रस्ताव पारित भएको थियो। यसमा इजरायलका विदेशमन्त्री एली कोहेनले युद्ध ‘विश्वव्यापी दवाव वा विनाविश्वव्यापी दवाव’ दुवै परिस्थितिमा जारी रहने बताएका थिए।

उनले भनेका थिए, ‘वर्तमान अवस्थामा युद्धविराम आतंकवादी संगठन हमासको लागि एक उपहार हुनेछ, यदि युद्ध रोकियो भने हमास फेरि फर्कनेछ र इजरायलमाथि पुनः खतरा बढ्नेछ।’

मंगलबार मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनले एक फन्ड रेजिङ कार्यक्रममा गाजामा अन्धाधुन्द बमबारीको कारण इजरायलले विश्वव्यापी समर्थन गुमाइरहेको बताएका थिए।

मंसिर २८, २०८० बिहीबार ११:३६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।