नेपाललाई कालोसूचीबाट हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री

नेपाललाई कालोसूचीबाट हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाइ सुरक्षालाई व्यवस्थित तुल्याएर युरोपेली युनियनको कालोसूचीबाट नेपालको हवाइ क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन्।

बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आएको प्रतिनिधिले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाइ क्षेत्रलाई कालोसूचीबाट नहटाएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ जहाज खरिद प्रकरण पारदर्शी हुनुपर्ने लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो।

प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्रीले नेपालको हवाइ क्षेत्रलाई कालोसूचीबाट हटाउन आफूले निरन्तर प्रयास गरिरहेको र थप सुधारमार्फत कालोसूचिबाट हटाउन विश्वासको वातावरण सिर्जना गरिने बताए।

आफूले युरोपेली युनियनका प्रतिनिधिहरूसँग पनि यस विषयमा कुराकानी गरेको भन्दै प्रधानमन्त्री दाहालले हवाइ सुरक्षा चुनौतीले अन्तर्राष्ट्रिय जगतमा नेपालको छविमाथि प्रश्न उठ्ने भएकाले गम्भीर रहेकाे बताए।

‘यसपटक हवाइ सुरक्षामा केही सुधार भएको छ। त्यसको आधारमा इयुको कालोसूचीबाट हट्छौँ कि भन्ने विश्वास थियो’ प्रधानमन्त्रीले भन्नुभयो, ‘तर हाम्रो सुधार पर्याप्त भएन। थप सुधारका निम्ति काम गर्नुपर्ने परिस्थिति देखिएको छ।’

मंसिर २८, २०८० बिहीबार ०९:५४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।