संसद बैठक चलिरहँदा दर्शक दीर्घाबाट दुई जना हाम फालेपछि...

संसद बैठक चलिरहँदा दर्शक दीर्घाबाट दुई जना हाम फालेपछि...

एजेन्सी : भारतको संसदमा लोकसभा बैठक चलिरहँदा दर्शकदीर्घामा रहेका दुई जना चेम्बरमा हाम फालेका छन्।

दर्शकदीर्घामा रहेका व्यक्ति बेन्चमा हाम फालेपछि हंगामा मच्चिएको थियो। घटनापछि सभाध्यक्षले दुई मिनेटका लागि बैठक स्थगित गरेका थिए।

यसलाई विपक्षी पार्टीका सांसदहरूले गम्भीर सुरक्षा कमजोरी भनेका छन्। कांग्रेस सांसद अधीर रञ्जन चौधरीले दुई जना हाम फालेको पुष्टि गरे।

बहुजन समाज पार्टीका सांसद दानिश अलीले दुई जना सार्वजनिक ग्यालरीबाट हाम फाल्ने बित्तिकै धुवाँ निस्कन थालेको बताए।

उनीहरूलाई सांसद र सुरक्षाकर्मीको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको उनको भनाइ छ।

उनले थपे, ‘उनीहरू उनी पक्राउ परेका छन्। हामीले एक जनाको पास जाँच्दा सागर नाम भएको थाहा भयो। उनी मैसूरका सांसदको अतिथिको रूपमा यहाँ आएका थिए।’

दोस्रो व्यक्तिको बारेमा आफूलाई थाहा नभएको उनले बताए।

आज भारतको संसदमा आक्रमण भएको २२ वर्ष भएको छ। सन् २००१ मा आजकै दिन पाँच सशस्त्र आक्रमणकारीले संसद भवनमा आक्रमण गर्दा ६ प्रहरी र २ संसद सुरक्षा सेवा कर्मचारीको मृत्यु भएको थियो।

मंसिर २७, २०८० बुधबार १४:२४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।