एनसेल कर्मचारी ट्रेड युनियनले भन्यो, ‘कम्पनीको दुष्प्रचारले कर्मचारीको मनोबल गिरायो’

एनसेल कर्मचारी ट्रेड युनियनले भन्यो, ‘कम्पनीको दुष्प्रचारले कर्मचारीको मनोबल गिरायो’

काठमाडौं : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमा कार्यरत कर्मचारीहरूको संगठन स्वतन्त्र एनसेल कर्मचारी ट्रेड युनियनले कम्पनीको ८० प्रतिशत सेयर खरिद बिक्रीको विषयलाई लिएर भइरहेको दुष्प्रचारले कर्मचारीको मनोबल गिराएको बताएको छ।

मंगलबार एक विज्ञप्ति निकालेर युनियनले कम्पनीको दुष्प्रचारले कम्पनीको प्रतिष्ठामा ठूलो आँच पुर्याउनुका साथै कर्मचारीको मनोबल गिरेको उल्लेख गएिएको छ।

जनमानसलाई भ्रममा पार्ने गरि भई रहेका गतिविधि र दुष्प्रचारले देशमा लगानीको वातावरणलाई खलल पुर्याउने र निजी क्षेत्रलाई हतोत्साही पार्ने काम भइरहेको ठहर समेत युनियनले गरेको छ।

रेनोन्डस् होल्डिङको शेयर खरिद बिक्रीलाई क्रेता र बिक्रेताबीच भएको सहमतिको कारोबार भएको उल्लेख गर्दै युनियनले कम्पनीले यसअघिनै सम्बन्धित कर, कानुन पालना गर्न प्रतिबद्ध रहेको बताइसकेको उल्लेख गरेको छ।

युनियनले रेनोल्डस होल्डिङ विदेशी कम्पनी नै भएको उल्लेख गर्दै युनियनले सरकारको स्वामित्वमा जानको लागि अझै ६ वर्ष बाँकी रहेको स्मरण गरायो।

‘रेनोल्डस् होल्डिङ् पहिले पनि विदेशी कम्पनी थियो र अहिले पनि विदेशी कम्पनी नै हो। मात्र यसको स्वामित्व अब नेपाली मुलका व्यवसायीको लगानी रहेको स्पेक्ट्रलाइट यूकेमा आउन लागको हो। दूरसञ्चार ऐनमा रहेको एक प्रावधान अनुसार २५ वर्ष पश्चात सरकारको स्वामित्वमा एनसेल जाने हो भने त्यसका लागि पनि अझै ६ वर्ष बाँकी रहेको छ र विदेशी लगानी ५० प्रतिशत भन्दा कम गर्ने हो भने सरकारी स्वामित्वमा नजाने भन्ने व्यवस्था पनि छ।’

कानुन र यसको प्रावधानलाई आफ्नो सीमित बुझाइका आधारमा व्याख्या गरेर भ्रम सिर्जना गर्नु दण्डनीय हुने विषय समेत उसले सम्झाएको छ।

युनियनले सरकारसँग देशको आर्थिक तथा सामाजिक विकासमा योगदान दिँदै आएको जिम्मेवार कर्पोरेट संस्थाको प्रतिष्ठामा आँच आउने गरी भइरहेको निरन्तरको आक्रमण र आधारहीन आक्षेप रोक्नसमेत आग्रह गरेको छ।

युनियनले अहोरात्र खटिने कर्मचारीहरूलाई हतोत्साही बनाउने खालको गलत अफवाह कही कतैबाट नफैलाउनल समेत आग्रह गरेको छ।

मंसिर २७, २०८० बुधबार १२:४१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।