काठमाडौं महानगरले २६४ वटा बस बिसौनी निर्माण गर्ने
काठमाडौं : काठमाडौं महानगरपालिकाले २ सय ६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने योजना बनाएको छ।
२९ औँ महानगर दिवस २०८० का अवसरमा आज महानगरपालिकामा आयोजना गरिएको महानगरपालिका र ट्राफिक प्रहरीबीच समन्वय तथा सहकार्य सम्बन्धी अन्तरक्रियामा यस सम्बन्धी जानकारी दिइएको हो।
यातायात प्रणालीको सुधारका लागि बसको रूट मिलाउने, पेलिकन क्रसिङ लाइट विस्तार गर्दै जाने, एकतर्फी सडकहरूको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा कोन र डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक संकेत र चिन्ह व्यवस्थापन गर्ने लगायत काम महानगरले गर्ने तयारी गरेको हो।
यससँगै दैनिक उपभोग्य वस्तुको ढुवानी, मालबाहक सवारी, विद्यालयका बसहरूको समय निर्धारण गर्ने, पार्किङ व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणाली सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुनेछन्। कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को पहिलो बैठक सम्पन्न भइसकेको जानकारी गराउँदै सम्बद्ध कार्यालयहरूसँग सहकार्य अगाडि बढाइएको बताए।
‘अहिले सानातिना सुधारका काम गर्दा प्रणालीमा सुधार आउँछ भने त्यहाँ बाट सहकार्य थालौँ,’उनले भने। काठमाडौंमा अटो रिक्सा, इरिक्सा र ठेला प्रयोगमा पूर्ण रोक लगाउने उनको भनाइ छ।
अन्तरक्रियामा प्रस्तुतीकरण गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक पोषराज पोखरेलले महानगरपालिकासँगको सहकार्यमा जनशक्तिमा प्रोत्साहन बढ्ने, प्रणालीमा सुधार हुने काम गर्न सकिने बताए।
बागमती, विष्णुमती, धोवीखोला र मनोहरा करिडोरलाई दुईतर्फी सञ्चालन गराउन पाए सवारी चाप गराउन सकिने बताउँदै पोखरेलले यसका लागि महानगरपालिकाको भूमिका आवश्यक रहेको बताए।
यातायात प्रणाली सुधारका विषयमा प्रस्तुतीकरण गर्दै महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले संकेत चिन्हहरू मिलाउन तत्काल काम थाल्नुपर्ने बताए। यस्ता चिन्हहरू आधिकारिक निकायले मात्र राख्नुपर्ने, अध्ययन गरेर मात्र राख्नुपर्ने भएकोले महानगरपालिकाले यसतर्फ काम गरिरहेको उनको भनाइ थियो।
‘यस्ता चिन्हहरू देखिने हुनुपर्छ, स्पष्ट हुनुपर्छ, बुझ्न सजिलो हुनुपर्छ, प्रोत्साहन दिने खालका हुनुपर्छ,’श्रेष्ठले भने,‘प्रणाली सुधार गर्न धेरै काम गर्नुपर्नेछ, यस वर्ष यातायात क्षेत्रको सुधारका लागि ४४ करोड रूपैयाँ छुट्याएर काम भइरहेको छ।’
मंसिर २७, २०८० बुधबार १२:१८:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।