संघीय संसद महासचिवमा राष्ट्रपति-सभामुख टकराव : राष्ट्रपतिले होल्डमा राखे, सभामुखले जिम्मा दिए

संघीय संसद महासचिवमा राष्ट्रपति-सभामुख टकराव : राष्ट्रपतिले होल्डमा राखे, सभामुखले जिम्मा दिए

काठमाडौं : संघीय संसदको महासचिव नियुक्तिमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रपति रामचन्द्र पौडेलबीच टकराब देखिएको छ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले मंसिर २४ गतेबाट लागू हुने गरी राजीनामा दिएपछि त्यहाँको महासचिव नियुक्तिमा राष्ट्रपति र सभामुखबीच टकराब देखिएको छ।

महासचिव नियुक्तिका लागि सभामुख घिमिरेले बुधबार अर्थात् मंसिर २७ प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवको काम गर्न तोकेसँगै विवाद सतहमा आएको हो।

सभामुख घिमिरेले राष्ट्रपतिले नियुक्ति नगर्दै सचिव पाण्डेयलाई अर्को व्यवस्था नहुन्जेलका लागि महासचिवको सेवा सुविधा पाउने गरी तोकेपछि विवाद बाहिर आएको हो।

सभामुख घिमिरेले पाण्डेयलाई कार्यभार तोकेको पत्रमा भनिएको छ, ‘संघीय संसदको महासचिव डा. भरतराज गौतमले मंसिर २४ गतेबाट लागू हुने गरी राजीनामा दिएर अनुपस्थित रहेकाले प्रतिनिधि सभा नियमावली २०७९ नियम ९ को खण्ड ढ तथा  राष्ट्रिय सभा नियमावली २०७५ को नियम २ को खण्ड ड बमोजिम राष्ट्रिय सभा अध्यक्षको परामर्शमा मंसिर २७ गतेबाट लागू हुने गरी अर्को व्यवस्था नहुन्जेलका लागि महासचिवको सेवा सुविधा पाउने गरी तोकेको छु।’

राजीनामा दिएका महासचिवलाई सभामुख घिमिरेले ‘अनुपस्थित’को संज्ञा दिएर नियमावली टेकेर जिम्मेवारी दिएका हुन्।

प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभा अध्यक्षबीचको परामर्शमा राष्ट्रपतिलाई सिफारिस गरेर राष्ट्रपतिले संघीय संसद सचिवालयका महासचिव नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

नेपालको संविधान २०७२ को धारा १०६ मा संघीय संसदको महासचिव र सचिवसम्बन्धी व्यवस्था छ।

जसको उपधारा १ मा भनिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसदको महासचिव, सभामुखको सिफारिसमा प्रतिनिधि सभाको सचिव र राष्ट्रिय सभाको अध्यक्षको सिफारिसमा राष्ट्रिय सभाको सचिव नियुक्त गर्नेछ।’

तर सभामुख र राष्ट्रिय सभा अध्यक्षको समझदारीमा पठाएको पाण्डेयलाई नियुक्ति दिन राष्ट्रपति पौडेलले होल्ड गरेका छन्। राष्ट्रिय सभा निर्वाचन पछि मात्र उनी महासचिव नियुक्त गर्ने सुरमा भएको निकष्टस्थहरू बताउँछन्।

यता, सभामुख घिमिरेको सचिवालयले राष्ट्रपतिबाट भएको ढिलाइबारे संवाद गर्न चाहँदा सम्पर्क हुन नसकेको जनाएको छ।

‘सभामुखज्यूले महासचिव नियुक्तिमा भएको ढिलाइबारे चासोसहित राष्ट्रपतिसँग संवाद गर्न चाहनुभएको छ। तर सम्पर्क भइसकेको छैन’, घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले भने।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको कार्यकाल सकिन लागेको छ। अब आउने अध्यक्ष सत्ता गठबन्धनको हुने भएकाले ८ महिनाअघि नै एमालेनिकट गौतमलाई राजीनामा गराएर आगामी ५ वर्ष पाण्डेयलाई महासचिव बनाउन लागिएको थियो।

मंसिर २७, २०८० बुधबार १२:०३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।