गाजामा अन्धाधुन्ध बमबारी गरेर इजरायलले विश्वव्यापी समर्थन गुमाइरहेको छ : बाइडेन

गाजामा अन्धाधुन्ध बमबारी गरेर इजरायलले विश्वव्यापी समर्थन गुमाइरहेको छ : बाइडेन

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा अन्धाधुन्ध बमबारी गरेर इजरायलले विश्वव्यापी समर्थन गुमाइरहेको बताएका छन्।

मंगलबार एक रकम जुटाउने (फन्ड रेज) कार्यक्रममा बाइडेनले गरेको यो टिप्पणीलाई इजरायलका लागि अमेरिकाले गरेको अहिलेसम्मकै कडा आलोचनाको रूपमा हेरिएको छ।

अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि इजरायलले गरेको जवाफी कारबाहीको अमेरिकाले खुलेर समर्थन गरेको थियो।

बाइडेनले अमेरिका सधैँ इजरायलको पक्षमा रहेको भन्दै उनले थपेका छन्, ‘अमेरिका इजरायलको साथमा छ। अमेरिका बाहेक युरोपियन युनियन र विश्वका अधिकांश देशले समर्थन गरिरहेको छ। तर अन्धाधुन्ध बमबारीका कारण इजरायलले त्यो समर्थन गुमाइरहेको छ।’

यद्यपि बाइडेनले हमासमाथि कारबाही गर्न इजरायलसँग पूर्ण अधिकार भएको समेत बताए। उनले त्यहाँका नागरिकको जीवन रक्षा गर्नु इजरायलको पनि दायित्व भएको उनले बताए।

केही समयअघि पनि अमेरिकाले इजरायलललाई मानव जीवनलाई प्राथमिकता दिन र गाजाका मानिसलाई युद्धबाट बच्न आग्रह गरेको थियो।

वरिष्ठ अमेरिकी अधिकारीहरूले पनि पछिल्लो समय इजरायलके कामप्रति असन्तुष्टि व्यक्त गरेका छन्। विश्वका धेरै देश, संयुक्त राष्ट्र संघ र मानवअधिकार संगठनहरूले गाजामा इजरायलको बमबारीको आलोचना गर्दै तुरुन्त युद्धविरामको माग गर्दै आएको छ।

मंगलबार हमासको स्वास्थ्य मन्त्रालयले इजरायलको आक्रमणबाट गाजामा अहिलेसम्म १८ हजार ४०० भन्दा बढीको मृत्यु भइसकेको जनाएको छ। हमास आक्रमणमा १ हजार २०० इजरायली मारिएका थिए।
 

मंसिर २७, २०८० बुधबार ०९:३८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।