दक्षिण अफ्रिकासँग भारतको पाँच विकेटको हार

दक्षिण अफ्रिकासँग भारतको पाँच विकेटको हार

काठमाडौं : घरेलु टोली दक्षिण अफ्रिकाले दोस्रो टि२० आई खेलमा भारतलाई डकवर्थ लेविस पद्धति (डीएलएस)को आधारमा ५ विकेटले हराएको छ।

योसँगै तीन खेलको सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ। पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो।

जितको लागि १ सय ५२ रनको डीएलएस विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १३.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। यो लक्ष्य दक्षिण अफ्रिकाले १५ ओभरमा पूरा गर्नुपर्ने थियो।

दक्षिण अफ्रिकाको जितमा ओपनर रिजा हेन्डिक्सले २७ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ४९ रन बनाए।

कप्तान एडेन माक्ररम १७ बलमा ४ चौका र १ छक्कासहित ३० र डेविड मिलर १७ रनमा आउट भए।

भारतका मुकेश कुमारले दुई, कुलदीप यादव र मोहम्मद शिराजले १-१ विकेट लिए।

त्यसअघि जर्ज पार्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पएको भारतले १९.३ ओभरमा ७ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो। त्यसपछि वर्षा भएपछि खेल छोट्याइएको थियो।

भारतका रिंकु सिंह ३९ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६८ रनमा अविजित रहे। रिंकुको टि२० आईमा पहिलो अर्धशतक हो।

कप्ताान सूर्यकुमार यादव ३६ बलमा ५ चौका र २ छक्कासहित ५६, तिलक बर्मा २९, जितेश शर्मा १, रविन्द्र जडेजा १९, शुभमन गिल र यशस्वी जैसवाल शून्यमा आउट भए।

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर जेराल्ड कोट्जीले ३.३ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए।

मार्को यानसन, लिजाड विलियम्स, तबरेज शाम्शी र एडेन माक्ररमले १-१ विकेट लिए। तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ।

मंसिर २७, २०८० बुधबार ०८:०५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।