शिलान्यास अगाडि नै विवादमा महिला औद्योगिक ग्राम

शिलान्यास अगाडि नै विवादमा महिला औद्योगिक ग्राम

काठमाडौँ : महिला उद्यमी महासंघलाई बाइपास गर्दै राजनीतिक पहुँचको आधारमा दक्षिण एसियाली महिला विकास मञ्च नामक संस्थालाई महिला औद्योगिक ग्राम दिने तयारी गरेपछि विवाद सुरु भएको छ।

 २०८० जेठ २४ मा मन्त्रिपरिषदले महिला औद्योगिक ग्राम बनाउन पाँचखालमा निर्माणाधीन पार्कलाई ‘महिला औद्योगिक ग्राम’ बनाउने निर्णय गरेको थियो।

 मन्त्रिपरिषद्को निर्णय अनुसार काभ्रे नगरपालिकाले मञ्चलाई करिब एक सय रोपनी जग्गामा झन्डै एक अर्ब रूपैयाँको लगानीमा २५ वर्षका लागि भाडामा दिँदैछ।

 प्रथम हरित महिला औद्योगिक ग्राम स्थापना र विकासका सम्बन्धमा पाँचखाल नगरपालिका, दक्षिण एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासङ्घबीच २०७६ भदौ २० मा सम्झौता भएको थियो।

 तर अहिले एकपक्षीय रूपमा महासंघलाई बाइपास गरिएको हो। मञ्च क्षेत्रीय सङ्गठन हो। मञ्चको अध्यक्ष प्रमीला आचार्य रिजाल महासङ्घको पूर्व अध्यक्ष हुन्। वरिष्ठ उपाध्यक्षमा पूर्व राज्यमन्त्री याङकिला शेर्पा, उपाध्यक्षमा महासंघकी पूर्व अध्यक्ष शान्ति चड्डा लगायतका छन्। क्षेत्रीय संगठन भने पनि पदाधिकारी सबै नेपालकै छन्। महासंघको अध्यक्षमा शोभा ज्ञवाली छिन्।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री प्रकाशशरण महतसहित काभ्रे गएर पार्कको शिलान्यास गर्दैछन्। पार्कमा एक अर्ब लगानी हुँदैछ। औद्योगिक ग्राम बनाउन सरकारले ४१ करोड रूपैयाँ बजेट विनियोजन गरिसकेको छ।

मंसिर २६, २०८० मंगलबार २०:३१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।