यू-१९ एसिया कप क्रिकेटमा नेपालको अहिलेसम्मकै न्यून स्कोर, भारतसँग १० विकेटले पराजित
काठमाडौं : यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ।
दुबईको आईसीसीए २ मैदानमा जितका लागि पाएको ५३ रनको सामान्य लक्ष्य भारतले बिना क्षति ७.१ ओभरमा भेट्टाएको छ। यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा ५२ रनमा अल आउट भएको थियो।
यू-१९ क्रिकेटमा नेपालको यो अहिलेसम्मकै न्यून स्कोर हो। यसअघि नेपाल सन् २००८ मा वेष्टइण्डिज विरुद्ध ७४ रनमा अलआउट भएको थियो। नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। हेमन्त धामीले सर्वाधिक ८ रन बनाए।
आकाश चन्द ४ रनमा अविजित रहे। नेपालका लागि टिकेर खेल्ने भर पर्दा ब्याटर अर्जुन कुमाल पनि क्रिजमा लामो समय टिक्न सकेनन्। अफगानिस्तानविरुद्ध ९१ रन बनाएका युवा ब्याटर अर्जुन ७ रनमा क्याच आउट भएका थिए।
अर्जुन तीव्र गतिका बलर आराधाय शुक्लाको बलमा कभरमा सट खेल्ने धुनमा मुशिर अहमदबाट क्याच आउट हुन पुगे।
नेपालका लागि भारतका तीव्र गतिका बलर राज लिम्बानी निकै भारी परे। उनले ९.१ ओभर बलिङ गर्दै ७ विकेट लिए। उनले दिपक बोहोरा, उत्तम थापा मगर, कप्तान देव खनाल, दीपक प्रसाद डुम्रे, दिपक बोहरा, सुवास भण्डारी र हेमन्त धामीलाई आउट गरेका हुन्।
अर्का बलर आरध्य शुक्लाले २ र आर्हिन कुलकर्नीले १ विकेट लिए।
प्रतियोगितामा नेपालको यो तेस्रो हार हो। यसअघि नेपाल पाकिस्तान र अफगानिस्तानसँग पनि पराजित भएको थियो। आजको खेलसँगै नेपाली टिमको लागि यू-१९ एसिया कपको अगाडिको यात्रा यही टुंगिएको छ।
एसिया कपमा नेपालले गुल्सन झा लगायतका आशातित खेलाडीलाई समावेश गराएको थियो। सेमिफाइनलसम्मको यात्रा तय गर्ने लक्ष्य राखेको नेपाली टिमले निराशाजनक खेल प्रदर्शन गरेपछि नेपाली शुभेच्छुकहरूमा उल्लास छैन। तथापि भारतजस्तो प्रभावशाली टिमसँग नेपाली टिमले यो तहको खेल प्रदर्शन गर्नु उस्तो धेरै निराशाजनक स्थिति नभएको रूपमा पनि हेर्न भने सकिन्छ।
मंसिर २६, २०८० मंगलबार १४:५४:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।