गगन-शेखर मिलाउन अर्जुननरसिंहको इन्ट्री, बैठक एक दिन सर्‍यो

गगन-शेखर मिलाउन अर्जुननरसिंहको इन्ट्री, बैठक एक दिन सर्‍यो

काठमाडौँ : कोसी प्रदेशमा सरकारमा दाबी पेस गर्नेबारे एक्लै अगाडि बढेको भन्दै गगन थापा शेखर कोइरालासँग रिसाएपछि यी दुवै नेताबिच संवाद समेत बन्द भयो।

शेखर आफ्नै शैलीमा पार्टीमा अगाडि बढ्न थाले, गगन आफ्नै शैलीमा। राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार छान्न संस्थापनपक्ष सक्रिय भएपछि शेखरले आफ्नो गुटको नेताहरूको बैठक राखेर छलफल गर्न चाहे। उनले एकल रूपमा मङ्गलवार बैठक राख्ने निर्णय गरे।

छलफलविनै बैठक डाँकेको भन्दै गगनले प्रस्ट मङ्गलवारको बैठकमा सहभागी नहुने बताएपछि भने शेखर ब्याक हुन बाध्य भए। उनी ब्याक भएर मात्रै समस्या समाधान हुने अवस्था थिएन।

शेखरले मध्यस्थकर्ताको रूपमा काँग्रेस नेता तथा गगनका ससुरा अर्जुननरसिंह केसीको सहयोग मागे। सोमबार केसीको मध्यस्थतामा यी दुई नेताबिचको मौनता तोडियो। शेखरले बैठक मङ्गलवारबाट बुधवार सारे।

तत्काल गुटगत बैठकमा गगन सहभागी हुने वातावरण बने पनि यी दुवैको सहकार्य लामो जाने सम्भावना भने देखिन्न।

यी दुवैको पछिल्लो सम्बन्धबारे जानकारस्रोतका अनुसार दुवै नेताबिचको मनमुटाब तत्काल समाप्त भएझैँ देखिए पनि लामो समय सहकार्य हुन नसक्ने अवस्थामा पुगिसकेको छ।

मुख्य आगामी महाधिवेशनमा शेखर सभापतिको उम्मेदवार बन्ने तयारीमा छन्। उता शेखर पनि पुन एक पटक सभापतिको उम्मेदवार बन्ने रणनीतिमा छन्।

'१५ औँ महाधिवेशन अगाडि दुवै नेता आ-आफ्नै बाटोमा लाग्ने पक्का छ। अहिले अर्जुननरसिंह केसीले मिलाए पनि महाधिवेशन अगाडि दुवै आ-आफ्नै बाटो लाग्छन्' ती नेताले भने।

मंसिर २५, २०८० सोमबार २१:३८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।