निर्माता मौनता श्रेष्ठको भ्रम, आँधी तुफान-२ डुब्नुमा नयाँ कलाकारलाई दिए दोष
काठमाडौँ : फिल्म लेखक अनि निर्माता हुन् मौनता श्रेष्ठ। आधा दर्जन बढी फिल्म बनाएका उनी अहिले भने निष्क्रिय समान छन्। ‘दादागिरी’,‘खलनायक’,‘मैदान,‘धड्कन’,‘अभिमन्यु’,‘आँधी तुफान’‘भगवान् सबैको’,‘पिँजडा ब्याक अगेन’ लगायतका फिल्म बनाएका उनले गत वर्ष ‘आँधी तुफान-२’ले बनाएर लगानी डुबाए।
फिल्मबाट ५० लाख बढी घाटा ब्यहोरेका उनी अनि चुपचाप बसे। उकेरासँग कुरा गर्दै उनले फिल्म डुब्नुको कारण आफ्नो ओभर कन्फिडेन्स भएको स्वीकार त गरे तर दोष नयाँ कलाकारलाई दिए।
‘हिट भएको फिल्म ‘आँधी तुफान’लाई लिएर सिक्वेल बनाउनुपर्छ भन्ने लाग्यो। तर चलेको कलाकार नलिनु गल्ती भयो। ओभर कन्फिडेन्स भएँ। फिल्म चल्ने हैन मैले गर्दा चल्ने हो, मौनता श्रेष्ठको नाम नै काफी छ भन्ने भ्रम भयो।‘
उनी राजेश हमाल,बिराज भट्टसँग काम गर्दै आएका थिए। फिल्म ‘आँधी तुफान २’मा मदन घिमिरेलाई निर्देशनको जिम्मा दिए अनि सज्जित भण्डारी,आरती आचार्य,पुनम गौतम,ध्रुव कोइराला लगायतका कलाकारले अभिनय गरे।
उनी अहिले पछुताइरहेका छन्। तर पछुतो जेमा गर्नुपर्ने त्यतातिर भन्दा कलाकारलाई दोष दिए। उनले अझै पनि फिल्म नै कमजोर भएकाले चलेन भन्ने स्विकार्न सकेको देखिएन। चलेका कलाकार भएको भए फिल्म डुब्दैनथ्यो भन्ने भ्रममा देखिए उनी।
‘फिल्ममा कलाकारहरू नयाँ थिए,मेकिङमा कम्प्रमाइज थिएन। अब फिल्ममा चलेकै कलाकार राख्नुपर्ने रहेछ भन्ने सिके’ उनी भन्छन्।
अब पुरानो शैली छाडेर अहिलेको पुस्ता सुहाउँदो फिल्म बनाउनुपर्छ भन्ने चेत पलाएछ। तर फिल्म केवल कलाकारले मात्रै हैन अब त कन्टेन्टले फिल्म चल्ने हो भन्ने तितो यथार्थ अझै स्विकार्न सकेको देखिएन।
कलाकारले फिल्म चल्ने भने त्यत्रा चलेका कलाकार लिएर बनेका फिल्महरू किन पानी भन्न नपाई आर्थिक रूपमा गर्लम्म ढल्थे होलान् र!
नेपाली फिल्मको सबैभन्दा ठुलो कमजोरी पटकथामा हो भन्ने चेत फिल्म लेखक भएर पनि उनमा अझैँ पलाएको रहेनछ। अर्थात् ‘मैले गरेको त गज्जप थियो नि कलाकारले डुबाए’ भन्ने भ्रममा रहेछन् उनी।
उनले आफूलाई परिवर्तन सहित छन् नयाँ जेनेरेसन अनुसारको फिल्म बनाउने दाबी गर्दै अब नयाँ फिल्म ‘स्वामी’ बनाउने योजना सुनाए। तर यो फिल्म बनाउँदा चिनिएका कलाकार भए फिल्म चलिहाल्छ नि भन्ने भ्रममा रहे फेरी पछुताउने अर्को फिल्म बन्ने जोखिम छँदै छ।
मंसिर २५, २०८० सोमबार २०:२७:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।