ग्लोबल आइएमईको स्टक ब्रोकर सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा

ग्लोबल आइएमईको स्टक ब्रोकर सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा

काठमाडौँ : ग्लोबल आइएमई बैङ्क लिमिटेडको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज् लिमिटेडले सोमबारदेखि धितो पत्र कारोबार सम्बन्धी काम सुरु गरेको छ। 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैङ्क लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो कम्पनीको उद्घाटन गरी टीएमएस मार्फत धितो पत्र खरिद सेवाको सुरुवात गरे।

नेपाल धितो पत्र बोर्डबाट धितो पत्र कारोबारको लागि इजाजत प्राप्त यो कम्पनीको कारोबार स्थान काठमाडौँ महानगरपालिका वडा नम्बर १० नयाँबानेश्वर शंखमुलमार्ग र नेपाल स्टक एक्सचेन्ज लिमिटेडको धितो पत्र दलाल सदस्य नम्बर ८९ रहेको छ।

कार्यक्रममा अध्यक्ष ढकालले संस्थाको पूर्ण व्यावसायिक सफलताको कामना गर्दै धितो पत्र बजारको विकास र विस्तारसंगै मुलुकको आर्थिक गतिविधिमा कम्पनीले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने बताएका थिए।

ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संस्थागत सुशासन, पूर्वाधार तथा नियमनकारी निकायहरूबाट प्राप्त निर्देशनको पूर्ण परिपालनामा कम्पनी उदाहरणीय हुने बताएका थिए।

ग्लोबल आइएमई बैङ्कका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कम्पनी सचिव विष्णुप्रसाद बास्कोटा, कम्पनीका सञ्चालकहरू लगायत बैङ्कको उच्च व्यवस्थापन तहका कर्मचारी उपस्थित थिए।

 

मंसिर २५, २०८० सोमबार २०:१०:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।