आइतबार उग्र भएको शेयर बजार सोमबार थामियो, कारोबार रकम पाँच महिनाकै उच्च
काठमाडौँ : मौद्रिक नीतिको सकारात्मक प्रभावका कारण आइतबार उग्र भएको शेयर बजार सोमबार केही सम्हालियो। आइतबार पटक-पटक सकारात्मक सर्किट ब्रेक लागेको थियो। सोमबार उग्र भएन बुल तर कारोबार रकम भने ५ महिनायताकै उच्च भयो।
सोमबार सेयर बजारमा ४ अर्ब ८४ करोड २७ लाख रुपैयाँको कारोबार भयो। असार १७ पछि यो सबैभन्दा ठुलो आँकडा हो। आइतबार नेप्से १११ अङ्कले बढेको थियो। शेयर बजार एक्कासि बढेसँगै नाफा लिन चाहनेहरू शेयर बजारमा ओइरिँदा कारोबार रकममा रेकर्ड बन्यो। तर नेप्से १५.४० अङ्कले घटेर परिसूचक १९४८.५७ बिन्दु कायम भयो।
सोमबार भएको कारोबारमा सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड शीर्ष स्थानमा रह्यो। कम्पनीको २५ करोड १५ लाख ६० हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो। सोमबार कम्पनीको सेयर मूल्य प्रति कित्ता १० रुपैयाँले बढ्यो।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५७ लाख, सिटिजन्स लाइफ इन्स्योरेन्सको १४ करोड ५६ लाख, माउन्टेन इनर्जीको १४ करोड ४० लाख र शिवम् सिमेन्टको १३ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भयो।
सोमबारको कारोबारमा समता घरेलु लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै घट्यो। कम्पनीको सेयर मूल्य प्रति कित्ता ४७ रुपैयाँले घटेर ६ सय १० रुपैयाँमा आइपुग्यो।
सोमबार बोटलर्स नेपाल बालाजु, सामुदायिक लघुवित्त र डोल्टी पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेपछि सकारात्मक सर्किट ब्रेक लागेको थियो।
मंसिर २५, २०८० सोमबार १८:४०:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।