मुख्य कलाकार नयाँ राखेर निर्देशक दीपक श्रेष्ठले जोखिम उठाएको फिल्म’ पर्खी बसेँ तिमिलाई’
काठमाडौँ : तिहारपछि हलमा नयाँ नेपाली फिल्म रिलिज भएनन्। सबै चाडपर्व कुरेर बसे। अनि ठुलो बजेटको भारतीय फिल्म रिलिज हुने भएपछि चुपचाप। ‘दिमाग खराब’पछि हलमा नयाँ नेपाली फिल्म रिलिज भएनन्। यहीबिच पुस २७ मा ‘पर्खी बसेँ तिमीलाई’ रिलिज हुँदैछ।
फिल्मका मुख्य तीन कलाकार नयाँ हुन्। उनीहरूलाई शिव श्रेष्ठ, विल्सन विक्रम राई, मनिष श्रेष्ठ लगायतकाले कलाकारले साथ दिएका छन्।
अहिले नेपाली हलमा पनि’एनिमल’ को आतङ्क छ। त्यसबाट फुत्किएका शोको भरमा दिमाग खराब हलमा टिकेको बेलामा पर्खी बसेँको टिम फिल्म प्रमोसनमा व्यस्त छ।
फिल्ममा पुरानै गीतहरू नयाँ भर्सनमा राखिएका छन्। एक महिना अगाडि फिल्म ‘बादलपारी’ को ‘कालो चस्मा लाउ है माया’बोलको गीत सार्वजनिक भएको थियो।
पहिल्यै निकै लोकप्रिय गीत उदितनारायण झा र दीपा झाले गाएका थिए। अहिले प्रमोद खरेल र मिलन नेवारले। गीतले पुरानो गीतको मिठास नदिए पनि दुई लाख ४५ हजार पटक हेरिएको छ।
दीपक श्रेष्ठको निर्देशनमा तयार भएको लभ स्टोरी फिल्मको टिमले हालै ‘चट्ट गाजल’ बोलको गीत सार्वजनिक गरेको छ। स्मिता दाहालले गाएको गीतमा कृष्णहरि बरालको शब्द, दीपक शर्माको सङ्गीत रहेको छ। गीत सामान्य भाकाकै भए पनि दुई दिनमा एक लाख ४० हजारले हेरेका छन्।
अहिले चल्तीकै कलाकारहरूले समेत दर्शकलाई हलसम्म तान्न सकिरहेका छैनन्। यो बेलामा निर्देशक दीपकले भने मुख्य तीन कलाकार नयाँ लिएर जोखिम मोलेका छन्।
मंसिर २५, २०८० सोमबार १५:३८:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।