कान्तिपुर टिभीले हैरान बनाएका विशाललाई टिम जोगाउनै हम्मे

कान्तिपुर टिभीले हैरान बनाएका विशाललाई टिम जोगाउनै हम्मे

काठमाडौं : कमेडी च्याम्पियन सिजन थ्रीको सबै तयारी सकिए पनि टेलिभिजनले समय नदिँदा हैरान छन् विशाल भण्डारी।

यही रियालिटी शो गर्नका लागि चलिरहेको ‘कमेडी क्लब विथ च्याम्पियन’को पहिलो सिजन बन्द गर्दा सोही नामका पछाडि ‘टु पोइन्ट जिरो’ थपेर अर्को टिमले उनीहरूकै समयमा कार्यक्रम प्रशारण गरिराखेका छन्।

आफ्नै स्टुडियो बनाई कमेडी च्याम्पियनको सबै काम सकेर प्रशारण मिति कुरेर बसे पनि कान्तिपुर टिभीले मिति सारेको सार्यै छ। तोकिएको मितिअनुसार यही १८ गते प्रशारण शुरू हुनुपर्ने थियो, तर भएन।

यता कान्तिपुर टिभीले झुलाउँदा उता पेलपाल गरेर कमेडी क्लब चलाएकाले उनको समूहका कलाकार तान्न छलफल चलाए।

दीपाश्री निरौला, सजन श्रेष्ठ, मेक्सम गौडेल बेरोजगार भएकाले फुत्किने जोखिम थियो नै। उता जति डबल मिनिङ जोक हाने पनि कि इन्टरटेनमेन्टले ‘कमेडी क्लब विथ च्याम्पियन टु पोइन्ट जिरो’ लाई जिरोबाट माथि ल्याउनै सकेन।

दर्शकले सुमन, मेक्सम नै खोजिरहेपछि कतै आइहाल्छन् कि भनेर कि इन्टरटेनमेन्टले ट्राइमार्न थाल्यो। कलाकारलाई काम त चाहियो। सुन्दर खनाल गइदिए।

अन्यले खुट्टा उचाल्न थालेपछि यता विशाल आत्तिएर ‘कमेडी च्याम्पियन’ अलपत्र परे पनि ‘कमेडी क्लब विथ च्याम्पियन’को तयारीमा लागे। अनि तीन महिनापछि दोस्रो सिजन ल्याउनेगरि आफ्नो टिमकासँग छलफल चलाए।

अफर बढेसँगै कलाकारको रेट बढ्ने नै भयो। जति रेट बढे पनि टिम नभत्कियोस् भनेर उनले टिमका सदस्यसँग सम्झौता गरे। ‘कमेडी क्लब विथ च्याम्पियन’मा दीपाश्रीसहितका पहिलो सिजनका कलाकारलाई अनुबन्ध गर्न सफल भए।

शर्त तीन महिनापछि कार्यक्रम ल्याउने भन्ने छ। तर, यता ‘कमेडी च्याम्पियन’ तेस्रो सिजनको फिजिकल अडिसन सकिँदा पनि कार्यक्रम प्रशारणमा लैजान सकेका छैनन्।

दर्शकले कार्यक्रमै बिर्सिएलान् भनेर युट्युब र फेसबुकमा फिजिकल अडिसनका क्लिप फालेर बसेको छ निर्माण टिम अहिले। कमेडी क्लबको हालत नि यस्तै भयो भने त टिम के टिक्ला र!

मंसिर २५, २०८० सोमबार १३:२६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।