एनसेलको शेयर खरिद बिक्रीबारे छानबिन समितिले जानकारी माग्यो, इमेल गर्न सकिने

एनसेलको शेयर खरिद बिक्रीबारे छानबिन समितिले जानकारी माग्यो, इमेल गर्न सकिने

काठमाडौँ : एनसेलमा रहेको आजियटाको ८० प्रतिशत शेयर ६ अर्बमा विक्री भएको घटना सार्वजनिक भएसँगै उच्चतहकै नेताहरूले सार्वजनिक रूपमै बदमासी भएको सार्वजनिक गरे।

एमालेका अधिकांश नेता अनि सांसद मौन देखिए। सरकारमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलका नेताहरूले राजनीतिक अनि प्रशासनिक मिलेमतोमा शेयर खरिद विक्रीमा बदमासी भएको सार्वजनिक रूपमा ठोकुवा गरे।

सरकारले शेयर खरिदबिक्री घटनाको छानबिन गर्न छानबिन समिति नै गठन गर्यो। आइतबारबाट काम सुरु गरेको त्यही सरकारी छानबिन समितिले जो जससँग एनसेलको शेयर खरिद विक्रीबारे सूचना या जानकारी छ त्यो उपलब्ध गराउन आग्रह गर्दै सार्वजनिक सूचना निकालेको छ।

समिति संयोजक टङ्कमणि शर्मा दंगालले जारी गरेको विज्ञप्तिमा ३० दिनभित्र प्रतिवेदन पेस गर्न सरकारले दिएको कार्यादेशअनुसार काम थालिएको उल्लेख छ।

कार्यादेशभित्र रही तोकिएको समयसीमा भित्र समितिले अध्ययन तथा छानबिन गरी सुझावसहितको प्रतिवेदन नेपाल सरकारलाई बुझाउने भन्दै समितिले सम्बन्धित विषय क्षेत्रका नियामक निकायहरू, सरकारी अधिकारीहरू, सम्बन्धित सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने जानकारी दिएको छ।

साथै कागजात तथा जानकारी प्राप्त गर्न सम्बन्धित विषयका विज्ञ, विभिन्न सरोकारवाला संघसंस्था र व्यक्तिहरूसँग समेत आवश्यकताअनुसार छलफल गरी राय सुझाव लिने उल्लेख गरिएको विज्ञप्तिमा

समितिले एनसेलको शेयर खरिद विक्रीसँग सम्बन्धित तथ्यपरक जानकारी, सूचना वा अन्य प्रमाणहरू भएमा समितिको आधिकारिक इमेल ठेगाना वा समितिको सचिवालयमा उपलब्ध गराउन आग्रह गरेको छ।

समितिका अनुसार [email protected] मा तथ्यपरक सामाग्री उपलब्ध गराउन सकिने उल्लेख गरेको छ।

मंसिर २४, २०८० आइतबार २१:५१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।