‘राष्ट्रवादी’ रेखा, जसले आफ्नो सन्तानलाई नेपालको नागरिक समेत बनाउन चाहिनन्
काठमाडौं : रेखा थापा अभिनेत्री तथा फिल्म निर्मात्री मात्र हैनन्, राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ समेत हुन्।
पार्टीको महामन्त्रीको उम्मेदवार बनेर पराजित भइन् उनी। तर, देश बनाउने भन्दै प्रतिनिधि सभाको उम्मेदवार पनि बनिन्। तर, पराजित भइन्।
महामन्त्री अनि सांसदको निर्वाचनमा पराजित भए पनि उनले सामाजिक सञ्जालमार्फत आफ्नो देशभक्तिपूर्ण अभिव्यक्तिहरू सार्वजनिक गरिरहिन्।
तर, व्यवहारमा उनले आफ्नो सन्तानलाई नेपाली नागरिक समेत बनाउन चाहिनन्।
पहिलो सन्तान जन्माउने मिति नजिकिएसँगै रेखा सुटुक्क अमेरिका उडिन्।
त्रिभुवन विमानस्थलबाट उड्दा आफूले दिएका राजनीतिक गफ र व्यवहारबीचको विरोधाभाषले आलोचना हुनसक्ने भन्दै उनी लुसुक्क भारतको दिल्ली गएर उतैबाट अमेरिका उडेकी थिइन्।
उनको श्रीमान् बलराम शाही अमेरिका निवासी भए पनि लौ बाबु उतैका थिए, उतै गएछन् भन्ने हुन्थ्यो। तर, उनी इजरायलमा बस्दै आएका थिए। रेखासँगै अहिले उनी पनि अमेरिका पुगिसकेका छन्।
आमाको रूपमा सन्तानको भविष्य सोच्ने अधिकार उनमा छ नै। जन्मको आधारमा अमेरिकी नागरिकका रूपमा सन्तानको भविष्य राम्रो हुने सोचेरै उनी सन्तान जन्माउन अमेरिका गएकोमा कुनै द्विविधा देखिँदैन।
अभिनेत्री अनि आमाको रूपमा उनको यो निर्णय निजी हो। तर, एक नेतृको रूपमा उनले जे जस्ता दाबी सार्वजनिक गर्दै आएकी थिइन् त्योसँग भने उनको व्यवहार मिलेन।
आफ्नो सन्तानलाई यो देशको नागरिक समेत बनाउन नचाहने नेतृ रेखाको देश बनाउने गफ हिजो मतदाताले नपत्याएर ठिकै गरेछन्।
मंसिर २४, २०८० आइतबार १९:१०:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।