डेढ महिनापछि काममा फर्किए भीरबाट लडेका प्रकाश घिमिरे

डेढ महिनापछि काममा फर्किए भीरबाट लडेका प्रकाश घिमिरे

काठमाडौं : घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएका अभिनेता प्रकाश घिमिरे डेढ महिनापछि काममा फर्किएका छन्।

आइतबार बुढानिलकण्ठमा फिल्म ‘महाजात्रा’ छायाङ्कनसँगै उनी काममा फर्किएका हुन्। ‘जात्रा’ शृङ्खलादेखि नै फिल्ममा उनी अभिनेत्री वर्षा राउतको पिताको भूमिकामा छन्।

छायाङ्कनमा फर्किन पाउँदा खुसी लागेको उनले बताए।

‘केही समयको विश्रामपछि काममा फर्किएको छु। चिकित्सकको सल्लाह अनुसार नै आराम र काम गरिरहेको छु’, अभिनेता घिमिरेले भने।

फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले अभिनेता घिमिरेलाई छायाङ्कनस्थलमा देख्दा सबैको मुहारमा खुसी देखिएको बताए।

‘उहाँ स्वास्थ्य लाभ गरेर फर्किनुहुन्छ भन्नेमा हामी विश्वस्त थियौँ। त्यसैले उहाँको दृश्य बाँकी राखेर अन्य छायाङ्कन गर्यौँ। उहाँलाई नियमित काममा देख्न पाउँदा खुसी लागेको छ’, निर्माता खत्रीले भने।

उनले अभिनेता घिमिरेको सम्पूर्ण दृश्यको छायाङ्कन सकेर पठाउने बताए। घिमिरेसँगै अभिनेता हरिवंश आचार्यले पनि छायाङ्कन गरिरहेका छन्।

‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायाङ्कन काठमाडौंसँगै तराईको भू-भाग समेत गरिने छ।

अघिल्लो दुई शृङ्खलाकै लेखक तथा निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भईरहेको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत लगायतको अभिनय छ।

‘जात्रा’ चलचित्रको लोकप्रियताले छायाङ्कन नहुँदै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ। चलचित्र आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ।

मंसिर २४, २०८० आइतबार १२:३८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।