गाजा क्षेत्रमा अस्पतालको क्षमताभन्दा धेरै संख्यामा घाइते र मृतक

गाजा क्षेत्रमा अस्पतालको क्षमताभन्दा धेरै संख्यामा घाइते र मृतक
फाइल फोटो

काठमाडौं : इजरायलको आक्रमणका कारण गाजा क्षेत्रमा मृतक र घाइतेहरूको संख्या अत्यधिक बढेको छ।

दक्षिण गाजामा जारी भीषण युद्धका बीच खान युनिसको नासिर अस्पतालका डाक्टरहरूले मृतक र घाइतेको संख्या अत्यधिक भएकाले स्थिति नियन्त्रणभन्दा बाहिर गएको बताएका छन्। उनका अनुसार अस्पतालको क्षमताले थेग्नै नसक्ने गरी धेरै संख्यामा घाइते र मृतकलाई ल्याइएको छ।

अस्पतालका निर्देशक नाहेद अबु तायमाले बीबीसीसँग भनेका छन्, ‘सयकडौं संख्यामा घाइते र मृतकहरूलाई अस्पताल ल्याइएको छ। खान युनिसमा इजरायलको लगातार बमबारीको बीच अस्पतालको करिडोरमा घाइतेहरूलाई राखेर उपचार गर्न बाध्य भएका छौँ। हामीसँग औषधि उपकरणहरू पनि थोरै छ।’

यसैबीच युएन वर्ल्ड प्रोग्रामको उपनिर्देशक कार्ल स्काउले प्यालेस्टिनी क्षेत्रमा १० मध्ये ९ जनाले हरेक दिन खान नपाएको बताएका छन्। त्यहाँका आधा जनसंख्या भोकमरीको चपेटामा छ। जबालिया क्याम्पमा बसेकाहरु कयौं दिनदेखि भोकै प्यासै बस्न बाध्य छन्।

यता इजरायली सेनाका प्रवक्ताले भने गाजा क्षेत्रमा मानवीय सहायता पुर्याउने कोसिस भइरहेको बताएका छन्।

इजरायली डिफेन्स फोर्सेसका एक प्रवक्ता लेफ्टिनेन्ट कर्णेल रिचर्ड हेचले बीबीसीसँग भनेका छन्, ‘हामी थप सीमा खोल्दै छौं, ताकि धेरै संख्यामा राहत सामग्री बोकेर ट्रकहरु गाजा क्षेत्रमा पुगुन्।’

उनका अनुसार सीमा पार गर्ने सबै ट्रकहरूलाई जाँच गर्ने काम भइरहेको छ।

मंसिर २४, २०८० आइतबार १२:०५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।