एनिमल : समाजका लागि घातक फिल्म
भलै फिल्म निर्माण ‘व्यापार’ हो। तर ‘व्यापार मात्रै’ त हैन। ‘व्यापार पनि’ भने हो। अर्थात फिल्म निर्माणमा केबल नाफा अनि घाटाको पक्ष मात्रै जोडिँदैन, सामाजिक दायित्व पनि सँगै जोडिएर आउँछ। त्यसैले त फिल्मले ‘कति कमायो’ भन्दा ‘कस्तो फिल्म बन्यो’ भन्ने पक्षको महत्व बढी हुन्छ।
हिन्दी फिल्म ‘एनिमल’लाई ‘कति कमायो’ भन्ने दृष्टिकोण छाडेर ‘कस्तो फिल्म बन्यो’ भन्ने दृष्टिकोणबाट हेर्ने हो भने यो युवापुस्ता र समाजका लागि घातक फिल्म हो, जसले चरम हिंसा र कानुन विपरीतका कामलाई अति प्रोत्साहित गरेको छ।
नेपालको समाज मात्र हैन विश्वव्यापी रूपमै युवा समूह रिसाएको देखिन्छ अहिले। समाजमा क्रोधको मात्रा बढिरहेको छ। ‘एनिमल’ जस्ता फिल्मले युवा पुस्तामाझ त्यही बढिरहेको क्रोधको मात्रामा पेट्रोल छर्कने काम गर्छ।
व्यापारिक दृष्टिकोणले हेर्ने हो भने फिल्म सुपर हिट भइसक्यो। रिलिज भएको नौ दिनमै ६ सय करोड ग्रस कलेक्सन गरिसकेको बिजनेश रिपोर्टहरू आइरहेका छन्।
नवौं दिनमा नेपाली हलहरूमा एनिमल हेर्ने दर्शकको चाप हेर्ने हो भने यता यसले सहजै १५ करोडको व्यापार पार गर्ने देखिन्छ।
फिल्मको कथा, पटकथा, अभिनय, सिनेमेटोग्राफी, संगीत अनि ब्याकग्राउन्ड म्युजिक लगायतको पक्ष हेर्ने हो भने हाफटाइमसम्म खोट लगाउने कमै ठाउँ फेला पर्छ।
हाफटाइमपछि बाबु-छोराको सम्बन्धसँगै श्रीमान्-श्रीमतीको सम्बन्धमा द्वन्द्वको निर्माण गर्ने क्रममा निर्देशक अल्मलिँदा फिल्म केही सुस्त बन्न गएको छ। पहिलो हाफमा बाबु-छोराको प्रेम अनि त्यसले निम्त्याएको द्वन्द्व देखाउन निर्देशक जसरी सफल देखिए दोस्रो हाफमा चुकेका छन्।
धनाढ्य बलबिर सिंह(अनिल कपुर)को हत्याको योजना कसले अनि किन बनाइरहेको छ भन्ने पक्ष खुलाउने क्रममा निर्देशक पटकथामा अल्मलिएको प्रष्ट अनुभव हुन्छ दोस्रो हाफमा।
बाबु-छोराको प्रेम अनि द्वन्द्वको बीचमा श्रीमान् अनि श्रीमतीबीचको द्वन्द्व मिसाउनुको अर्थ फिल्मलाई तन्काउन बाहेक अर्को कारण देखिँदैन।
रणविजय सिंह बनेका रणबीर कपुरको अभिनय राम्रो छ। उनी निर्देशकले कल्पना गरेको पात्रमा फिट देखिएका छन्। फ्यानहरू निरास हुँदैनन् उनको अभिनय हेर्दा। उनले लामो कपालसँगै सेतो कुर्ता लगाउँदाको गेटअपले सञ्जय दत्तको बायोपिक फिल्म सञ्जुको चरित्रको झल्को दिन्छ।
बलबिर सिंह बनेका अनिल कपुर पात्रको चरित्र चित्रणअनुसार अभिनयमा फिट छन्। अति हिंश्रक श्रीमान्को लाचार श्रीमतीको भूमिकामा छिन् रश्मिका मन्दाना। उनको पात्रको चरित्रचित्रण ‘वाह’ भन्ने नभएकाले अभिनय पनि ‘वाह’ लायक छैन।
रणविजय सिंहको हजुरबा बनेका सुरेश ओवराय, अंकल बनेका शक्ति कपूरको भूमिका सहयोगीको भए पनि उनीहरू ओझेलमा परेका छैनन्। दर्शकले ‘नोटिस’ गर्छन्।
छोटो भूमिकामा रहेका प्रेम चोपडा अनि अबरार बनेका बबि देवल दर्शकको मष्तिष्कमा सहजै बस्छन्। सबैभन्दा गजब बबिको क्यारेक्टर हो। फिल्मको सबैभन्दा ठूलो सरप्राइज नै बबिको क्यारेक्टरले स्क्रिनमा पाएको समय र त्यसको प्रभाव नै हो।
एनिमलमा उनले गरेको अभिनयलाई जसरी बलियो कमब्याकको रूपमा व्याख्या भइरहेको छ अनि दर्शकहरूले जसरी तारिफ गरिरहेका छन्, त्यसले अभिनयमा कति समय मौका पायो हैन, स्क्रिनमा देखिएको समयमा कस्तो अभिनय गर्यो भन्ने मुख्य पक्ष हो भन्ने पुन: पुष्टि गरेका छन् उनले।
फिल्म एनिमलमा नेपाली अभिनेता विपिन कार्की पनि अनुबन्धित भएको, पछि समय नमिलेर उनले अभिनय नगरेको नेपाली फिल्मी बजारमा खुबै समाचार चलेका थिए।
फिल्ममा उनका लागि कुन भूमिका दिएका होलान् निर्देशकले? उनले ‘भ्याउँदिन’ भनेर छाडेपछि क्यारेक्टरै फिल्मबाट हटाएको भए अर्को कुरा, नत्र उनको क्यारेक्टरमा अर्को कसैले अभिनय गरेको हो भने त्यस्तो क्यारेक्टर देखिएन।
प्रेममा हिंसा मिसाउनु निर्देशक सन्दिप रेड्डीको ब्रान्ड नै हो। उनले तेलगु भाषामा निर्माण गरेको ‘अर्जुन रेड्डी’ अनि त्यसैको हिन्दी भर्सन ‘कबिर सिंह’ युवतीको प्रेममा परेको युवाको जस्तोसुकै हिंसा पनि जायज ठहर्याउने प्रयास गरेका थिए।
कबिर सिंहका हिंसात्मक दृश्यहरूको समिक्षकहरूले जमेर आलोचना गरेका थिए। केही दृश्यहरूले महिला हिंसालाई प्रोत्साहन गरेको भन्दै आलोचना भएको पनि थियो।
एनिमलमा पनि उनले प्रेमलाई नै मुल कथाको रूपमा समातेका छन्। यसमा उनले बाबु-छोराको प्रेमलाई कथा बनाएर चरम हिंसा देखाए। एनिमलमा हिंसात्मक दृश्यको कुनै सीमा नै छैन। १८ वर्षमाथिका बयस्कका लागि फिल्म हेर्ने सुविधा छ। तर, फिल्मका केही हिंसात्मक दृश्य १८ प्लसले हैन कि ४० प्लसले पनि हेरिरहन सक्दैनन्।
रणबीर कपूरले जसरी बबिको हत्या गरेको दृश्य राखिएको छ, त्यसले इराकमा मारिएका नेपाली मार्दाको दृश्य सम्झायो। फिल्मका अधिकांश हिंसात्मक दृश्य हेर्न सकिएन। दर्शक आत्तिएर आँखा छोप्छन्।
निर्देशक रेड्डीले फिल्म एनिमलमा निर्माण गरेको समाजमा कानुन छैन। कानुनी दण्ड छैन। कुनै देशको सीमा छैन। बाबुको एकोहोरो प्रेममा परेको छोरा बाबुको हत्या गर्न खोज्ने व्यक्ति र समूह सिध्याउन जहाँसुकै जानसक्छ। जसलाई पनि मार्न सक्छ। कमिला किचिरहेको हो या मान्छे मारिरहेको हो ठम्याउनै गाह्रोपर्छ। जनावरको समाज पस्केका छन् उनले।
रणविजय सिंह(रणबीर) बाबु बलबिर सिंह(अनिल कपुर)लाई त्यति धेरै माया किन गर्छ अनि ऊ किन त्यति धेरै हिंसात्मक बने भन्ने पक्षमा निर्देशकले त्यति मिहिनेत नगर्दा बाबु छोराबीचको त्यो हदको सम्बन्धमा दर्शक कन्भिन्स हुन सक्दैनन्। बाबुको जन्मदिन मनाउने क्रेज अनि 'लभ' हेैन 'सिक' चरित्र छ।
छोरा बाबुका लागि जस्तोसुकै काम गर्न राजी छ। तर, बाबु छोराको काममा सहमत छैनन्। फिल्मको नाम एनिमलसँग लगेर रणबीर कपूरको चरित्र जोड्ने हो भने चैँ म्याच हुन्छ। त्यो आधारमा हेर्ने हो भने यो बाबु- छोराको प्रेमको कथामा बनेको फिल्म हैन, प्रेमको आवरणमा पशु समान बनेका एक युवाको कथा हो, समाजलाई जनावर बनाउनेको कथा हो जहाँ जस्तोसुकै हिंसा पनि जायज छ।
निर्देशकले बाबुको एकोहोरो प्रेममा के जायज अनि के नाजायज ठम्याउनै नसक्नेगरी एकोहोरो भएको पशुसमान हिंश्रक छोरोको कथा त पस्किए, तर आँखा चिम्लिन बाध्य पार्ने हिंसालाई पनि जायज ठहर्याउने प्रयास गर्दै।
फिल्म एनिमलले बाबु-छोराबीच प्रेमलाई हैन अति हिंसालाई प्रोत्साहित गर्छ। कानुन पालना हैन, कानुन मिच्न प्रोत्साहित गर्छ। प्रेमको आवरणमा अपराधलाई वैधता दिन्छ।
हिंसाको प्रोत्साहन कुनै समाजका लागि पनि स्वीकार्य पक्ष हुन सक्दैन। त्यसैले यो नेपाली समाजका लागि मात्रै हैन जुनसुकै समाजमा लागि पनि घातक फिल्म हो। तर यही घातक फिल्ममा समाज रमाइरहेछ। यसले समाजमा बढ्दो हिंशाप्रतिको आकर्षणको संकेत गर्छ जुन डरलाग्दो पक्ष हो।
मंसिर २४, २०८० आइतबार १०:३९:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।