‘२५ औं पोखरा सडक महोत्सव’को टिकट खल्ती एपबाट

‘२५ औं पोखरा सडक महोत्सव’को टिकट खल्ती एपबाट

काठमाडौं : विगत २५ वर्षदेखि अंग्रेजी नयाँ वर्षको छेकोमा हुँदै आएको ‘पोखरा सडक महोत्सव’मा यस वर्षदेखि अनलाइन टिकेटिङ सुरु भएको छ।

पुस १२ गतेदेखि १६ गतेसम्म चल्ने खल्ती एपबाट दर्शकले महोत्सवमा आयोजना हुने सांकृतिक कार्यक्रमको टिकट काट्न सक्नेछन्। अनलाइनबाट ५ सय रुपैयाँमा नै टिकट काट्न सकिनेछ।

महोत्सव आयोजनाको २५ वर्ष पुगेको अवसर पारेर पहिलो पटक आयोजकले अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था गरेको हो।

दर्शकले कार्यक्रम आयोजना हुने स्थानबाट सोझै टिकट काट्दा मुल्य बढी लाग्ने आयोजकले बताएको छ।

खल्ती एपसँगै विदेशी कार्डहरूबाट पनि आफन्त तथा साथीभाइका लागि टिकट काट्न सकिनेछ।

यो महोत्सवमा सांस्कृतिक कार्यक्रममा ५ दिनसम्म राष्ट्रिय स्तरका चर्चित कलाकारहरू पोखरा पुग्नेछन्।

रीमा विश्वकर्माले होस्ट गर्ने महोत्सवको न्यू इयर इभमा र्यापर लाउरे र  द एलिमेन्ट्स ब्यान्डको प्रस्तुति दिनेछन् भने डिसेम्बर ३० तारिखमा मुक्ती एन्ड रिभाइबल ब्यान्डको धमाकेदार प्रस्तुति रहनेछ।

यस्तै, डिसेम्बर २९ तारिखमा 'ओ अमिरा' तथा 'मनमगन' फेम गायक दीपक बज्राचार्यले दर्शकलाई झुमाउनेछन्।

यस्तै उनीहरुको साथमा चर्चित कलाकार आफ्नो ब्याण्डसहित प्रस्तुत हुँदा, लक्ष्य ब्यान्ड, द स्क्राच जर्नी, टुकी, ब्ल्याक फिदर लगायतका ब्यान्ड र गायकहरुले आफ्नो धमाकेदार प्रस्तुति दिनेछन्।

रेवान अध्यक्ष नरेश भट्टराईले यो पटक महोत्सवको रजत वर्ष भएकाले अझ विशेष हुने बताउँदै पोखरा आउने पर्यटकहरूलाई विभिन्न मनोरन्जनात्मक कार्यक्रम तथा फरक फरक समुदायको खानाको स्वाद लिन पाइने 'सडकमै खाऊ सडकमै रमाउ” भन्ने नारालाई सफलताका साथ सम्पन्न गर्न कुनै कसर नगर्ने बताए।

उनले यो वर्षको महोत्सवमा अघिल्ला वर्षहरूमा डुङ्गा रेस, वेटर रेस , विभिन्न समुदायको  झाकी, कन्सर्ट, आतिस बाजी (फायरवक्स)सँगै विभीन्न नयाँ कार्यक्रम हुने भएकाले महोत्सव अवधिभर पोखरा आउनेहरुले पूर्ण मनोरञ्जन प्राप्त गर्नेमा आफू ढुक्क रहेको बताएका छन्।

‘पोखराको पर्यटन विकासमा यो महोत्सवले विशेष आकर्षण बढाउने काम गर्दै आएको छ। हाम्रो महोत्सव पोखरा पर्यटनको पर्यायजस्तै बनिसकेको छ। २५ वर्षदेखि यो निरन्तर भइराख्नु नै यसको प्रमाण हो’, भट्टराईले भने।

स्वर्णिम इन्टरटेन्मेन्ट र एड साथीले सांस्कृतिक कार्यक्रमको व्यवस्थापन गरेको हो।

‘मेलामा सांस्कृतिक तथा सांगीतिक कार्यक्रमसँगै २० भन्दा भन्दा बढि प्रकारका खानाको स्वाद लिन त पाइने नै छ, योसँगै रजत वर्षको अवसर भएकाले हल्लन चोकदेखि कन्सर्ट आयोजना स्थलसम्म विशेष आरती र शिव ताण्डव नृत्य गर्दैछौँ। यसले विदेशी पर्यटकहरुलाई वैद्धिक सनातन धार्मिक तथा सांस्कृतिक अनुभव गराउने छ’, कन्सर्ट तथा पार्क म्यानेजमेन्ट प्रमुख श्रीधर पौडेलले भने।

यस्तै मेलाका संयोजक विश्वराज पौडेलले रजत वर्षमा पोखरा आउने पर्यटकलाई फरक तरिकाको मनोरञ्जन दिन आफूहरु तयार रहेको दाबी गरे।

मंसिर २४, २०८० आइतबार ०९:३१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।