एनसेलबारे पहिलो पटक बोले ओली, अपराधपूर्ण काम भएको आरोप

एनसेलबारे पहिलो पटक बोले ओली, अपराधपूर्ण काम भएको आरोप

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक दूरसञ्चार सेवा प्रदायक एनसेलको बारेमा बोलेका छन्।

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको मध्यपहाडी लोकमार्गको यात्राको क्रममा नुवाकोटको बट्टारमा भएको कार्यक्रममा ओलीले नेपाल सरकारको स्वामित्वमा आउन नदिन एनसेलमा अपराधपूर्ण काम भएको बताए।

उनले भने, ‘नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने एनसेल, त्यो छल्नका लागि अर्कोलाई बेचेको नाटक मञ्चन गरिएको छ। कत्रो अपराध! खरबौंको कारोबार अरबमा गर्ने अत्यन्त अपराधपूर्ण काम भएको छ।’

आफूले राम्रोसँग अध्ययन गर्न नपाएको भन्दै देशलाई कंगाल बनाएर केही मानिसहरूले आफ्नो ढुकुटी भर्ने काम गरेको आरोप लगाए।

उनले थपे, ‘मैले यसको राम्ररी अध्ययन गर्न पाएको छैन। तर म के भन्न चाहन्छु भने, सरकारलाई खबरदारी गर्न चाहन्छु, देशलाई कंगाल बनाएर केही मानिसहरूले ढुकुटी भर्ने कमिसनतन्त्रको खेल बन्द गर। नेपाली जनता यो सुन्न र सहन तयार छैन।’

एनसेल सेयर प्रकरणको विषयमा केही सांसदहरू र सञ्चारमाध्यमले कुरा उठाइरहेको भन्दै उनले यसका बारेमा सराकरले चित्तबुझ्दो जवाफ दिनुपर्ने बताए।

अध्यक्ष ओलीले सरकारी क्रियाकलापको अंग बनाइ विमानस्थलका कर्मचारीलाई संलग्न गराएर सुन छिराइएको आरोप समेत लगाउन भ्याए।

‘सरकारको मिलेमतो मात्र होइन, सरकारी क्रियाकलापको अंग बनाएर विमानस्थलबाट किलोका किलो सुन छिराइएको छ,’ उनले थपे, ‘विमानस्थलका कर्मचारीलाई संलग्न गराएर यस्तो क्रियाकलाप गरिएको छ।’

सरकारले देशको हितको पक्षमा बोल्न नसकेको, आफ्नो स्वाधिनता र स्वाभिमानको रक्षा नसकेको आरोप लगाउँदै अध्यक्ष ओलीले अहिलेको सरकारलाई शासन गर्ने कुनै अधिकार नभएको जिकिर गरे।

अध्यक्ष ओलीले मध्यपहाडका जनताको आर्थिक जीवनको मेरुदण्डको रुपमा रहेको राजमार्गको अविलम्ब सुधार गर्नुपर्ने देखिएको र त्यो काम अब एमालेले गर्ने बताए।

‘दुनियाँमा कहिँ नभएको राजमार्ग रैछ यो। राजमार्ग अबिलम्ब स्तरोन्नति गर्नुपर्ने देखियो। राजमार्गको अवस्था दयनीय हुँदा स्थानीय जनताले कष्ट पाएका छन्। मध्यपहाडका जनताको आर्थिक जीवनको मेरुदण्डको रुपमा रहेको राजमार्गको स्तरोन्नति अब एमालेले गर्ने उनले बताए।’

आफू सरकारबाट हटेपछि अर्थतन्त्र ध्वस्त भएको र दण्डहिनता बढेको उनको भनाइ थियो।

मंसिर २४, २०८० आइतबार ०८:१३:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।