नेपालमा प्रविधि नियन्त्रणमा सरकारको सक्रियताप्रति अन्तर्राष्ट्रिय विज्ञको चासो

नेपालमा प्रविधि नियन्त्रणमा सरकारको सक्रियताप्रति अन्तर्राष्ट्रिय विज्ञको चासो

काठमाडौँ : इन्टरनेट र डिजिटल प्लेटफर्म नियमन गर्न नेपालले संसारभरका राम्रा अभ्यासबाट सिक्नुपर्ने सूचना प्रविधिका क्षेत्रका विज्ञहरूले जोड दिएका छन्।

विश्व मानवअधिकार दिवसको अवसरमा डिजिटल फ्रिडम कोलिसनले शनिवार ललितपुरमा आयोजना गरेको डिजिटल फ्रिडम समिट-२०२३ मा सहभागी विज्ञहरुले नेपालमा हालै सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध र सरकारले गरेको नियन्त्रणको तयारीबारे चिन्ता र चासो ब्यक्त गरेका थिए। 

कार्यक्रममा नेपाल लगायत दक्षिण एसियाली देशहरूमा सरकारहरूले नियमन भन्दा नियन्त्रणको अभ्यास बढाएकोप्रति चिन्ता गर्दै उनीहरूले नियन्त्रणले समाधान भन्दा समस्या थप जटिल बनाउने र आम प्रयोगकर्ताका अधिकारमाथि हस्तक्षेप हुने बताएका हुन्।

दक्षिण कोरियाली प्रविधि विज्ञ प्रोफेसर डा. किलनाम चनले इन्टरनेट नियमन सबै देशका लागि सजिलो नभएको बताउँदै सीमित स्रोतसाधन हुने नेपाल जस्ता देशका लागि झनै चुनौतीपूर्ण रहेको बताए।

उनले प्रविधि विकास र नियमनमा विकासोन्मुख देशहरू विकसित देशहरूमाथि परनिर्भर नभई आफू जस्तै देशहरूको सहकार्यमा अगाडि बढ्नुपर्ने बताए।

विश्व अर्थतन्त्रको ठुलो हिस्सा एआईमा आधारित प्रविधिले ओगट्ने सङ्केत देखिएको भन्दै प्रोफेसर चनले कम विकसित देशहरूले पनि सम्पन्न देशहरू जत्तिकै फाइदा उठाउन सक्नुपर्ने बताएका थिए।

 लन एसिया श्रीलङ्काका अध्यक्ष प्रोफेसर डा. रोहन समराजीभाले नागरिक अधिकार र संविधानका प्रावधानहरूलाई हस्तक्षेप गर्ने गरी सरकारले डिजिटल प्लेटफर्म नियमका कानुन बनाउन नहुने बताएका थिए।

श्रीलङ्काको संसद्मा हालै प्रस्तुत ‘डिजिटल सेप्टी विधेयकलाई त्यहाँको सर्वोच्च अदालतले संविधान अनुकूल नभएको ठहर गरेको सन्दर्भ जोड्दै उनले नेपालमा टिकटकमाथिको प्रतिबन्धले पनि थुप्रै प्रश्न उठाएको बताएका थिए।

नियमन प्रक्रियागत, सहभागितामूलक र जनताप्रति जवाफदेवी हुनुपर्नेमा उनको जोड थियो।

आइक्यानका उपाध्यक्ष समिरन गुप्ताले अन्तर्राष्ट्रिय अभ्याससँगै स्थानीय संस्कृति र सामाजिक पक्षलाई हेरेर इन्टरनेट र डिजिटल प्लेटफर्मलाई नियमन गर्नु पर्ने बताएका थिए।

इन्टरनेटको पहिचान नै विश्वव्यापी खुल्ला सञ्जाल भएकाले खण्डित इन्टरनेटका अभ्यासलाई निरुत्साहित   गरिनुपर्नेमा उनको जोड थियो। 

मंसिर २४, २०८० आइतबार ००:४८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।