पोखराको नयाँ वर्ष सडक महोत्सवमा आठ लाख सहभागी गराउने रणनीति, पाँच दिन हुनेछ महोत्सव

पोखराको नयाँ वर्ष सडक महोत्सवमा आठ लाख सहभागी गराउने रणनीति, पाँच दिन हुनेछ महोत्सव

पोखरा : अंग्रेजी पात्रो अनुसार पोखरामा आयोजना हुँदै आएको पोखरा सडक महोत्सव रजत वर्षमा विशेष कार्यक्रम आयोजना हुने भएको छ।

पुस १२ देखि १६ गतेसम्म चल्ने महोत्सवलाई विशेष बनाउन ५ दिन राष्ट्रियस्तरका चर्चित कलाकारसहित विशेष साङ्गीतिक कार्यक्रम आयोजना हुन लागेको आयोजकले जानकारी दिएका छन्।

महोत्सवमा र्यापर लाउरे र द एलिमेन्ट्स ब्यान्डसँगै मुक्ति एन्ड रिभाइबल, गायक दीपक बज्राचार्य, लक्ष्य ब्यान्ड, द स्क्राच जर्नी, टुकी, ब्ल्याक फिदर लगायतका ब्यान्ड र गायकहरूको प्रस्तुति रहेको छ।

रेवान अध्यक्ष नरेश भट्टराइले यो पटक महोत्सवको रजत वर्ष भएकाले विशेष कार्यक्रमहरू राखिएको जानकारी दिए।

फरक-फरक समुदायको खानाको स्वाद लिन 'सडकमै खाऊ, सडकमै रमाऊँ' थिममा अघिल्ला वर्षहरूमा जस्तै डुङ्गा रेस, वेटर रेस, विभिन्न समुदायको झाँकी , कन्सर्ट , आतिस बाजी (फायरवक्स)सँगै विभिन्न नयाँ कार्यक्रम राखिएको छ।

यस पटक स्वर्णिम इन्टरटेन्मेन्ट र एड साथीले सांस्कृतिक कार्यक्रमको व्यवस्थापन गरेको छ। 'मेलामा सांस्कृतिक तथा सांगीतिक कार्यक्रमसँगै २० भन्दा भन्दा बढी प्रकारका खानाको स्वाद लिन पाइने र हल्लनचोकदेखि कन्सर्ट आयोजना स्थलसम्म विशेष आरती र शिव ताण्डव नृत्य समेत राखिएको आयोजकले जानकारी दिएका छन्।

थप गरिएका कार्यक्रमले विदेशी पर्यटकहरूलाई वैदिक सनातन धार्मिक तथा सांस्कृतिक अनुभव गराउने कन्सर्ट तथा पार्क म्यानेजमेन्ट प्रमुख श्रीधर पौडेलले बताए।

मेला संयोजक विश्वराज पौडेलले रजत वर्षमा पोखरा आउने पर्यटकलाई फरक अनुभव गराउन  सांस्कृतिक झाँकी , खानाका परिकार , पार्कमा हुने सांगीतिक कार्यक्रम थपिएको बताए।

मेलाका उप-संयोजक वैभव पौडेलले मेलामा युवाहरूलाई लक्षित गरी भलिबल , डुगां रेस , वेटर रेस , तथा कन्सर्ट एवम् विभिन्न मनोरञ्जनात्मक कार्यक्रम राखिएको बताए। आयोजकले यसपटक महोत्सवमा ८ लाख सहभागी हुने अनुमान गरेका छन्।  

पहिलो पटक इटिकेटिङको व्यवस्था

आयोजकहरूले पहिलो पटक मेलामा सहभागी हुन इच्छुकहरूका लागि इ टिकेटिङको व्यवस्था गरेको जनाएको छ।

मेलाको सांस्कृतिक कार्यक्रममा सहभागी हुन पाँच सय दरको टिकट काट्नुपर्नेछ। आयोजकले यसका लागि खल्ती एपसँग सहकार्य गरेको जानकारी दिएको छ।

मंसिर २४, २०८० आइतबार ००:३७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।