८ हजार प्रतिनिधि सहभागी गराएर नागरिक उन्मुक्ति पार्टीले कीर्तिमान रच्ने

८ हजार प्रतिनिधि सहभागी गराएर नागरिक उन्मुक्ति पार्टीले कीर्तिमान रच्ने

काठमाडौं : नेपालको दलीय राजनीतिक इतिहासमै सम्भवतः सबैभन्दा धेरै प्रतिनिधिको सहभागितामा नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन आयोजना हुने भएको छ।

सत्तारुढ दलको रूपमा रहेको नागरिक उन्मुक्ति पार्टीको आसन्न महाधिवेशनमा ८ हजार प्रतिनिधिले भाग लिने पार्टीका संरक्षक तथा संस्थापक नेता रेशमलाल चौधरीले जानकारी दिए।

नाउपाको प्रथम महाधिवेशन आगामी पुस २६ देखि २८ सम्म उक्त पार्टीको आधार भूमि कैलालीको टिकापुरमा हुँदैछ। महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्ने चौधरीले बताए।

नाउपामा अध्यक्ष, सहध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन्। महाधिवेशनमा सकेसम्म ७७ वटै जिल्लाको प्रतिनिधि गराउन नेताहरूलाई खटाइएको चौधरीले बताए।

अब पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पनि कम्तीमा एक पालिकादेखि निर्वाचन क्षेत्रसम्म अनिवार्यरुपमा गएर महाधिवेशन प्रतिनिधि बनाउन १५ दिने सूचना जारी गरिएको चौधरीले बताए। जहाँ पार्टीको संगठन विस्तार भइसकेको छैन,त्यहाँ गएर महाधिवेशन प्रतिनिधि चयन गर्ने जिम्मेवारी उनीहरूलाई छ।

अनुगमनकर्ताले नै पर्यवेक्षक पनि छनौट गर्ने तर उनीहरूले मतदानको अधिकार भने पाउने छैनन्।

प्रायः राजनीतिक दलले महाधिवेशन प्रतिनिधि कमभन्दा कम चयन गर्छन्। तर नाउपाले भने ८ हजार प्रतिनिधिका बीच टिकापुरमा महाधिवेशन गर्दैछ । उनीहरूको व्यवस्थापन समेत त्यहीँ गरिनेछ।

पार्टीको महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने सम्भावना रहेको संरक्षक चौधरीले बताए। अहिले पार्टी नेतृत्व भूमि व्यवस्था मन्त्री रन्जिता श्रेष्ठ चौधरीले गरिरहेकी छन्।

मंसिर २३, २०८० शनिबार १८:०३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।