मुटु शल्य चिकित्सक डा. अनिलको उपचार अनुभव : मुटुको नसा फुटेकी ती गर्भवतीको त्यो दुर्लभ शल्यक्रिया गर्दा…
डा. अनिल भट्टराई मुटु शल्य चिकित्सक हुन्। यो विधाका चिकित्सकलाई कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन (सिटिभिएस विशेषज्ञ) भनिन्छ। उनी मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत छन्।
उनले सयौं व्यक्तिलाई मुटुको शल्यक्रिया तथा औषधि उपचार गरेर बचाएका छन्।उपचारपछि पनि बिरामी बचाउन नसक्दा उनलाई निक्कै दुःख लाग्छ। डा. अनिलले चिकित्सकीय पेशाको शिलशिलामा देखे भोगेका यस्तै दुःखसुख उकेरासँग साटेका छन्।
मुटुको नसा फुटेकी गर्भवतीको त्यो दुर्लभ शल्यक्रिया
करिब पाँच वर्ष अघि बिरामीको उपचार गर्दाको एउटा प्रसंग डा. अनिलको मानसपटलमा ताजै छ। करिब २५ वर्षकी गर्भवतीलाई मुटुमा समस्या भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको इमर्जेन्सी कक्षमा पु¥याइएको थियो।
ती महिला ३७ महिनाकी गर्भवती थिइन्। ती गर्भवतीको मुटुबाट निस्कने मुल नसा नै फुटेर आकस्मिक स्वास्थ्य समस्या निम्तिएको थियो।
तुरुन्तै शल्यक्रिया नगरे आमा र गर्भको बच्चा दुवैको मृत्यु हुने करिब निश्चित थियो। तर, शल्यक्रिया गर्न पनि निक्कै जोखिम थियो। शल्यक्रिया नै गरेर मुटुको उपचार गर्दा पनि गर्भको बच्चाको मृत्यु हुने जोखिम समेत उच्च थियो।
शल्यक्रिया गरेर आमा र गर्भको बच्चालाई बचाउन निक्कै चुनौति तथा जोखिम देखियो। तुरुन्तै प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सहितको टिम जुटेर चिकित्सकको टोलीले ती गर्भवती महिला र गर्भको बच्चालाई कसरी बचाउन सकिन्छ भन्ने छलफल ग¥यो।
त्यसपछि चिकित्सकको टिमले पहिले शल्यक्रिया गरेर गर्भको बच्चा निकाल्ने अनि ती महिलाको मुटुको शल्यक्रिया गर्ने निष्कर्ष निकाल्यो।
उपचारको योजना अनुसार कत्तिपनि ढिला नगरी चिकित्सकको टोलीले सबैभन्दा पहिला ती गर्भवतीको शल्यक्रिया गरी गर्भमा रहेको बच्चा निकाल्यो। गर्भको बच्चामा असरस्वरूप बच्चा निलो हुन थालिसकेको थियो। बच्चा निकालेर तुरुन्तै भेन्टिलेटरमा राखियो।
बच्चा निकाल्नासाथ चिकित्सकको टोलीले ती महिलाकोे तुरुन्तै छाती खोलेर मुटुको शल्यक्रिया (ओपन हार्ट सर्जरी) थालिहाल्यो। मुटुको शल्यक्रिया गर्दा बिरामीको शरीरमा रगत पातलो गर्ने औषधि दिनुपर्ने हुन्छ।
ती महिलालाई पनि रगत पातलो गर्ने औषधि दिइयो। रगत पातलो गर्ने औषधिले रक्तश्राव हुन्छ। पाठेघर चिरेर बच्चा निकालेकाले ती महिलाको शल्यक्रियाका क्रममा थप रक्तश्रावको जोखिम बढ्यो नै।
तर, सबै तयारीपछि चिकित्सकको टोलीले ती महिलाको मुटुको शल्यक्रिया थाल्यो। चिकित्सकको टोलीले ती महिलाको रक्तश्राव रोक्ने टेक्निक अपनाउँदै मुटुको शल्यक्रिया गरे। मुटुको फुटेको नसामा नयाँ कृतिम किसिमका नसा हालियो। करिब पाँच घण्टाको चिकित्सकको टोलीको मेहनतपछि शल्यक्रिया सकियो।
धन्य। शल्यक्रिया सफल भयो। महिलाको ज्यान बाँच्यो। महिला होसमा आइन्। आमा र बच्चा दुवैको ज्यान बाँच्यो। केही दिनको अस्पताल बसाइपछि ती महिलाले आफ्नो बच्चा च्यापेर अस्पतालबाट घर फर्किइन्।
त्यो दुर्लभ किसिमको शल्यक्रिया सम्झँदा अझै पनि डा. अनिललाई अनौठो लाग्छ।
त्यस किसिमको अवस्थाको शल्यक्रिया मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पहिलोपटक गरिएको डा. अनिलले सुनाए।
‘मनमोहनमा अहिलेसम्म गरिएको ती महिलाको त्यस किसिमको त्यो नै एउटा मात्रै अप्रेशन हो, दुर्लभ केसमा पर्छ त्यो, ’उनले सुनाए।
अहिले पनि ती महिला बेलाबेलामा स्वास्थ्य परीक्षण तथा उपचारका लागि फलोअपमा अस्पताल पुग्छिन्। ती महिलाका बच्चा करिब पाँच वर्षका भएका छन्। आमा र बच्चा दुवै स्वस्थ रहेको डा. अनिलले सुनाए।
मुटुमा प्वाल परेका ती कलिला बालकको मृत्यु भएपछि...
उपचार गरेकामध्ये सतप्रतिशत बिरामीलाई बचाउन सम्भव हुन्छ नै भन्ने यकिन हुँदैन। कहिलेकाहीं भने उपचारको शिलशिलामा अचानक चिकित्सकले सोच्दै नसोचेको घटना समेत नहोला भन्न पनि सकिँदैन।
केही वर्ष अगाडीको यस्तै एउटा घटना डा. अनिल कहिल्यै भुल्दैनन्।
डा. अनिले स्वास्थ्य शिविरमा गएका बेला तापलेजुङबाट मुटुरोगको समस्या भएर आएका एकजना करिब ११ वर्षका बालकलाई उपचारका लागि काठमाडौं बोलाइयो।
ती बालककोे नाम पनि अनिल नै थियो। ती बालकको मुटुको शल्यक्रिया गरेर उपचार गर्नुपर्ने थियो। नभन्दै बालकलाई उपचारका लागि काठमाडौं ल्याइयो।
ती बालकलाई मुटुसम्बन्धी जन्मजात रूपमा भएको जटिल किसिमको रोग थियो। बालकको मुटुमा प्वाल परेको थियो।
फोक्सोमा जाने मुटुको नली नै साँघुरिएको थियो। मुटु फुलेको अवस्था थियो। यस्तो किसिमको जटिल समस्यामा शल्यक्रिया गर्दा पनि मृत्युदर धेरै नै हुने डा. अनिलले सुनाए।
तर, शल्यक्रिया नगरेको खण्डमा बालकको जतिखेर पनि मृत्युको जोखिम थियो।
शल्यक्रिया गरेर उपचार गर्नुको विकल्प नै थिएन। त्यसैले जोखिम मोलेरै सबै तयारीपछि ती बालकलाई मुटुको शल्यक्रियाका लागि शल्यक्रिया कक्षमा लगियो।
डा. अनिल लगायत चिकित्सकको टिमले ती अनिल नाम गरेका बालकको मुटुको शल्यक्रिया थाल्यो। शल्यक्रिया सफल भयो। शल्यक्रियापछि ती बालकलाई पोष्ट अपरेटिभ वार्ड हुँदै आइसियुमा राखियो। त्यसपछि स्वास्थ्यमा सुधार हुँदै गएको थियो।
तर, एक हप्तापछि फेरि ती बालकको स्वास्थ्य बिग्रँदै गयो। ती बालकलाई घर फर्काउन सम्भव भएन। अस्पतालमा आफैंले उपचार थालेको करिब एक महिनामा उपचारकै क्रममा बालकले नै प्राण त्याग्नुपर्यो।
त्यो घटनाले डा. अनिलको मनमा निक्कै पिडा भयो। मन भारी भयो र मन चस्कियो। मन विच्छिप्त भयो। दुःख लाग्यो।
अहिलेसम्म पनि ती अनिल नाम गरेका बालेकको त्यो मृत्युको घटनाले बेलाबेलामा डा. अनिलको मन चसक्क भइरहन्छ।
विदेशी भूमिमा बालिकाका बुवाआमाले दिएको त्यो चस्मा उपहार
दश वर्षअघि इटलीमा सीटीभीएस सम्बन्धि विषयमा विद्यावारिधि गर्दा बिरामीको उपचार गरेको एउटा प्रसंग डा. अनिल कहिल्यै भुल्दैनन्।
डा. अनिल अस्पतालमा ड्युटीमा नै थिए। करिब दुई वर्षकी कलिली बालिकाको मुटुमा समस्या भएर अस्पताल पु¥याइएको थियो। बालिकाको मुटुमा प्वाल परेको थियो। शल्यक्रिया गरेर मुटुमा भएको प्वाल टाल्नुपर्ने थियो।
आवश्यक सबै तयारीपछि ती बालिकालाई चिकित्सक तथा स्वास्थ्यकर्मीको टिमले शल्यक्रिया कक्षमा लग्यो। त्यसपछि डा. अनिल लगायत चिकित्सकको टिमले शल्यक्रिया गरी मुटुको प्वाल टाल्ने प्रक्रिया सुरु गर्यो। केही समयको चिकित्सकको टिमको मेहनतपछि ती बालिकाको मुटुको प्वाल टालियो।
शल्यक्रिया सफल भयो। बालिकालाई होसमा ल्याइयो। पोष्ट अपरेटिभ वार्डमा सारियो।
र, बालिकाको ज्यान बाँच्यो। केही दिनको अस्पतालमा उपचारपछि बुवाआमाले छोरीलाई लिएर घर फर्कने तयारी गरे। डिस्चार्जको तयारी भयो।
डिस्चार्ज गर्ने क्रममा ती बालिकाका बुवाआमाले डा. अनिललाई भेटे अनि निक्कै कृतज्ञ हुँदै धन्यवाद त दिए नै। ती बालिकाका बुवाआमाले डा. अनिललाई चस्मा उपहार समेत दिए। प्रेमपूर्वक दिएको उपहार उनले स्वीकारे।
विदेशी भूमिमा ती बालिकाका बुवाआमाले छोरीको उपचार गरेवापत कृतज्ञ हुँदै दिएको त्यो चस्मा उपहारले डा. अनिलको मन छोयो। करिब दश वर्षअघि इटालिमा ती बालिकाका बुवाआमाले उपहारस्वरूप दिएको त्यो चस्मा अहिले पनि आफूसँग सुरक्षित रहेको उनले सुनाए।
त्यसो त बिरामी तथा बिरामीका आफन्तले फलोअपका लागि आउँदा विभिन्न किसिमका फलफूल ल्याइदिन्छन्। अनि कसैले त कुखुराको भालेनै उपहार ल्याइदिन्छन्।
यसरी प्रेमपूर्वक ल्याइदिएको उपचार अस्वीकार गर्दा बिरामी तथा बिरामीका आफन्तले चित्त दुखाउन सक्ने भएकाले उपहार स्विकार गर्ने गरेको उनले सुनाए।
जिन्दगीभरी सुत्न नपाइने, २४सै घण्टा अलर्ट
त्यसो त मुटुको शल्यक्रिया गर्ने डाक्टरले जिन्दगिभरी राम्रोसँग आराम गर्न र निदाउनै नपाइने मुटु शल्य चिकित्सक डा. अनिलले अनुभव छ। यो विधिका चिकित्सकको काम निक्कै संवेदनशील हुने उनी सुनाउँछन्।
कतिपय मुटुसँग सम्बन्धित समस्या भएका व्यक्तिको केही मिनेट भित्रमा नै उपचार तथा शल्यक्रिया नगरेको खण्डमा मृत्युको जोखिम हुन्छ। त्यसैले कतिपय यस्ता जटिल शल्यक्रिया गरिहाल्नुपर्ने हुन्छ कि तुरुन्तै शल्यक्रिया नगरे व्यक्तिको क्षण भरमा नै मृत्यु हुनसक्छ।
त्यसैले २४सैं घण्टा घरमा बस्दा समेत मोवाइल साथमा नै लिएर ‘अलर्ट’ भएर बस्नु पर्ने उनले अनुभव सुनाए। तर, यसरी २४सैं घण्टाजसो खटेवापत अस्पतालमा छुट्टै अतिरिक्त भत्ता भने नभएको डा. अनिलले बताए।
हप्तामा २-३ पटक जहिल्यै पनि राती नै उठेर अस्पताल आउनु परेको उनले अनुभव सुनाए।
आफूले रोजेको पेशा भएकाले आफूलाई यो जिम्मेवारीबोध गर्ने बानी नै परिसकेको उनले सुनाए। उनकी श्रीमती स्वास्थ्यकर्मी नै भएकाले उनको पेशा बुझ्छिन्। उनीहरूकी छोरी करिब चार वर्षकी पुग्न लागेकी छन्। पेशाका कारण डा. अनिल धेरैबेर छोरीसँग रमाउन भने पाउँदैनन्।
डा. अनिलकी आमा भने बेलाबेलामा रात-बिरात अस्पतालमा नै छोरा धाउनुपर्दा दिक्दारी मान्दै गुनासो गर्छिन्। तर, आमालाई पनि छोराको पेशा यस्तै हो भनेर आजकाल बानी पर्न थालिसकेको छ।
अति खट्नुपर्ने पेशा भएकैले नेपालमा आजकाल कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जरी (सिटिभिएस÷ मुटु शल्य चिकित्सा) विषय पढ्ने चिकित्सकको आकर्षण नै नभएको डा. अनिलले सुनाए। महाराजगञ्ज चिकित्सा क्याम्पसमा समेत लगातार तीन वर्ष यता सिटीभिएस (एमसिएच इन सिटीभिएस) पढ्ने विद्यार्थी एकजना पनि भर्ना नभएको उनले जानकारी दिए।
यो विषय अध्ययन गर्ने विद्यार्थी नहुँदा महाराजगञ्ज चिकित्सा क्याम्पसमा तीन वर्षयता अध्ययनको सिट नै खाली भएको उनले सुनाए।
यसरी यो विषयप्रति विद्यार्थीको आकर्षण नबढ्नुले कतै भोलिका दिनमा मुटु शल्य चिकित्सककै अभावमा बिरामीको उपचारमा समस्या त पर्ने हैन भन्ने उनलाई चिन्ता लाग्ने गरेको छ।
डाक्टर हेर्न आएकी ती दुर्गमकी महिला
दश वर्षको अवधिमा नेपालका दुर्गम क्षेत्रहरूमा एकसय भन्दा बढी स्वास्थ्य शिविरमा गएका छन् डा. अनिल।
त्यसो त दुर्गममा स्वास्थ्य शिविरमा जाँदा कयौँ ठाउँमा त व्यक्तिले डाक्टर नै नदेखेको पाउँछन् उनी।
पश्चिमको एक ठाउँमा त उपचारका लागि नभई डाक्टर कस्तो हुन्छ भनेर अलि लामो बाटो धाएर नै एकजना करिब ४५ वर्षकी महिला स्वास्थ्य शिविरमा आएको उनले भेटे। ती महिलालाई डा. अनिलले तपाइँ किन आउनु भएको भनेर सोध्दा ती महिलाले फर्काएको जवाफको यकिन भाषा त उनले बिर्सिए। तर, ती मैलो लुगा लगाएकी महिलाले ‘डाक्टर कस्तो हुन्छौ भनेर म तमिलाई देख्न आएको’ भन्ने जवाफ फर्काएको सम्झन्छन् उनी।
करिब तीन वर्ष अघि पश्चिमी क्षेत्रमा स्वास्थ्य शिविरमा गएको बेला डाक्टर नै कस्तो हुन्छ भनेर ती महिला हेर्न आएको त्यो प्रसंग सम्झँदा अझै उनलाई केही अनौठो महशुस हुन्छ।
अनि नेपालका विशेषगरी दुर्गम क्षेत्रमा व्यक्तिको स्वास्थ्य सेवा पहुँचको अभावबारे समस्यामा परेको देख्दा उनको मन कटक्क हुन्छ।
स्वास्थ्य शिविरमा गएका बेला उनले धेरै व्यक्तिका मुटुसँग सम्बन्धित रोगको पहिचान, उपचार तथा उपचार व्यवस्थापन गरेका छन्। सामान्यतया स्वास्थ्य शिविरमा जाँदा बिरामीको मुटुको चेकजाँच गर्ने, इको गर्ने गरिन्छ। त्यसपछि व्यक्तिको मुटुको समस्याको जटिलता अनुसार आवश्यक परेको खण्डमा काठमाडौंमा बोलाएर मुटुको शल्यक्रिया तथा औषधि उपचार गर्ने गरेको उनले सुनाए।
स्वास्थ्य शिविरमा पुगेका बेला मुटु सम्बन्धि समस्या भएका एक हजार भन्दा बढी व्यक्तिको त खुल्ला मुटु शल्यक्रिया (ओपन हार्ट सर्जरी) गरिसकेको छ डा. अनिलको टिमले। यसरी उपचार गरेकामध्ये धेरै व्यक्तिलाई बचाएका छन् उनले। त्यसमा केही बिरामी भने उपचारपछि पनि मृत्यु भएको सम्झन्छन् उनी। बिरामीको मृत्युहुँदा डा. अनिललाई पनि दुःख नलाग्ने कुरै भएन।
यसरी स्वास्थ्य शिविरमा जाँदा फरक-फरक भौगोलिक क्षेत्रमा फरक-फरक भाषा बोलेको र फरक सँस्कृति भएको देख्दा उनलाई नेपाल सानो मुलुक लाग्दैन। भौगोलिक रूपमा नेपाल सानो देखिएपनि यहाँको विविधतालाई हेर्दा नेपाल ठूलै देश भएको उनलाई महशुस हुन्छ।
भ्यागुताको मुटु झिकेर ढुंगामाथि राख्दा मुटु चलेपछि...
त्यसो त डा. अनिलले मुटु सम्बन्धी डाक्टरी विषय अध्ययन गर्नुको पनि एउटा रोचक प्रसंग छ। सानोमा बुवाले तँ पछि के बन्छस् भनेर सोध्दा अनिलले म त डाक्टर नै पढ्छु होला भन्ने जवाफ दिन्थे।
आठ कक्षामा पढ्दा स्वास्थ्य तथा जनसंख्या विषय अध्ययन गर्नुपथ्र्यो। एकदिन शिक्षकले कक्षामा पढाउने क्रममा ‘मुटु अटोमेटिक (स्वचालित) अंग हो, शरीरबाट भिकेर एकछिन बाहिर राख्यो भने पनि मुट एकछिनसम्म आफै चलिरहन्छ’ भनेछन्।
शिक्षकको त्यो कुरा अनिलको बालमस्तिष्कले टिपिहालेछ। त्यसैले अनिलले बिदुर नाम गरेका साथीसँग मुटु कसरी चल्छ भनेर हेर्ने सल्लाह गरे।
अनि एकदिन अनिल र उनका साथीले पोखरीका दुईवटा भ्यागुता समाते। भ्यागुतालाई पोखरी बाहिर ढुंगामा राखेर हतियारले भ्यागुताको पेट चिरे। भ्यागुताको मुटु भेटे। त्यसपछि भ्यागुताको मुटु निकालेर सफा ढुंगामा राखिदिए।
ढुंगामा राख्दा भ्यागुताको मुटु उनीहरूले चलेको जस्तो देखे। केही बेरपछि फेरी भ्यागुताको शरीरभित्र नै त्यो मुटु राखिदिए। अनि सियो धोगोले सिएर भ्यागुतालाई पोखरिमा नै छोडिदिए। तर, मुटु निकालेका त्र् दुइ भ्यागुता बाँचे बाँचेनन् भन्ने उनीहरूलाई पत्तै भएन।
यसरी मुटुको सानैदेखिको खुल्दुली र चासोका कारण नै आफूले मुटुरोग विषय नै छनोट गरेको डा. अनिलले भ्यागुतो चिरेको प्रसंगलाई उधृत गर्दै सुनाए।
एसएलसीपछि रुसमा अध्ययन
अनिल २०३४ मा पवर्तको साबिक तिलाहार गाविस (हालको मोदी गाउँपालिका वडा. नं. ६) जन्मिएका हुन्। उनले पवर्तकै पूर्णेश्वर माविबाट २०४९ मा एसएलसी गरे।
एसएलसीपछि अनिल उच्च शिक्षाको अध्ययनका लागि आफन्तसँग २०५० मा रुस पुगे। उनले रुसको सारातोभ युनिभर्सिटीबाट प्लस टु गरे। त्यसपछि सारातोभ स्टेट मेडिकल युनिभर्सिटीमा एमडी अध्ययनका लागि भर्ना भए। त्यहाँ एमडी भनिएपनि रुसको त्यो एमडीलाई नेपालमा भने एमबीबीएस सरह मान्यता दिइन्छ। करिब साढे सात वर्षमा उनले प्लस टु देखि एमबीबीएससम्मको अध्ययन सके।
उनले छात्रवृतिमा अध्ययन गरेका अनिलले सन् २००० मा एमबीबीएस सकेर नेपाल फर्किए।
छनोटमा मुटुको धड्कन फर्काउने विषय
नेपाल फर्किएपछि डा. अनिले त्रिभूवन विश्वविद्यालय, शिक्षण अस्पतालको सर्जरी विभागमा मेडिकल अधिकृतको करार जागिरेका रूपमा काम गर्न थाले। उनलाई थप अध्ययन गर्नु त छँदैथियो।
त्यसैले शिक्षण अस्पतालको जागिर छोडेर रुसस्थित आफूले एमबीबीएस (एमडी) अध्ययन गरेको मेडिकल कलेजमा थप अध्ययनको लागि डा. अनिल त्यहाँ पुगे। उनको छनोटमा मुटुको धड्कन फर्काउने विषय नै प¥यो। उनी सारातोभ स्टेट मेडिकल युनिभर्सिटीमा नै कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जरी विषयमा स्नातकोत्तर तह (मास्टर्स इन कार्डियो भास्कुलर सर्जरी÷एमएस)को अध्ययनका लागि भर्ना भए। उनले तीन वर्षे एमएस अध्यययन पूरा गरे। तर, उनलाई त्यति अध्ययनले मात्रै चित्त बुझेन।
त्यसैले रुसमा तीन वर्षे एमएस अध्ययन सक्नासाथ थप अध्ययनका लागि डा. अनिल इटाली पुगे। डा. अनिले इटालिको बेरगामो सहरको इन्टरनेश्नल हार्ट स्कुलमा छात्रवृतिमा एक वर्ष कार्डियो भास्कुलर सर्जरी विषयमा फेलोसिप गरेर त्यससम्बन्धि सम्बन्धि थप ज्ञान तथा सिप सिके।
उनको अध्ययनको क्रम यतिमा मात्रै रोकिएन। डा. अनिलले विद्यावारिधिका अध्ययनका लागि समेत छात्रवृति पाए। त्यसैले उनले इटालिकै भेनिसस्थित पादोवा विश्वविद्यालयमा सिटिभिएस सम्बन्धि विषयमा नै तीन वर्षे विद्यावारिधि गरे।
यो संसारकै पूरानो विश्वविद्यालय मध्येमा पर्छ।
विद्यावारिधी अध्ययनकै क्रममा डा. अनिलले सन् २०११ मा ‘दी फ्रान्सिस फन्टेन प्राइज’ नामक पुरस्कार समेत पोर्चुगलमा पाए। यो एक प्रसिद्ध फ्रान्सेली मुटु शल्य चिकित्सक (हार्ट सर्जन)को नाममा दिइने पुरस्कार हो। यो पुरस्कार संसारभरबाट छानेर प्रत्येक वर्ष एकजना कार्डियो भास्कुलर सम्बन्धी सर्जनलाई दिइने उनले सुनाए।
सन् २०१३ मा डा. अनिल विद्यावारिधी गरिसकेपछि अमेरिकाको हार्डवर्ड युनिभर्सिटीमा पुगे। त्यहाँ उनले तीन महिना कार्डियो भास्कुलर (सिटीभीएस) सम्बन्धी थप ज्ञान तथा सिप सिकेर नेपाल फर्किए। उनी विद्यावारिधीसम्मको अध्ययन सकेर नेपाल फर्किएको दश वर्ष भयो।
उपचार र पढाउने काममा व्यस्त
नेपाल फर्किएपछि डा. अनिले त्रिभूवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा उपप्राध्यापकको रूपमा करार जागिरेको रूपमा काम गर्न थाले।
क्याम्पसमा चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउने अनि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बिरामीको औषधि उपचार गर्नु उनको दैनिकी बन्यो।
जागिर सुरु भएको करिब दुई वर्षमा उनी स्थायी जागिरे भए। कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन (सिटिभिएस विशेषज्ञ÷ मुटु शल्य चिकित्सक) डा. अनिल बढुवा भएर हाल सह–प्राध्यापकको भूमिकामा कार्यरत छन्। हाल डा. अनिल चिकित्सा क्याम्पस, सिटीभिएस (मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर) को विभागिय प्रमुखको जिम्मेवारीमा समेत कार्यरत छन्।
मंसिर २३, २०८० शनिबार १८:४१:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।