माधव नेपाल भन्छन् : ‘एनसेल कारोबारमा बेइमानी गर्नेलाई छोड्न हुँदैन’

माधव नेपाल भन्छन् : ‘एनसेल कारोबारमा बेइमानी गर्नेलाई छोड्न हुँदैन’

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एनसेलको शेयर खरिदबिक्रीमा बद्मासी गर्नेलाई कारबाही गर्नुपर्ने बताएका छन्।

समाजवादी प्रेस संगठनले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले ६ वर्षपछि नेपाललाई हस्तान्तरण गर्नुपर्नेमा अहिले बिक्री गरेर चलखेल गर्न खोजिएको बताए।  

‘यो किनबेच नेपाललाई ६ वर्षपछि हस्तान्तरण गर्न पन्छाउने काम हो। पहिल्यै थाहा पाएर आँखा चिम्लन हुँदैन। दण्डित गरेर, कारोबारमा भएको बद्मासीलाई छानबिन गरेर कारबाही गर्नुपर्छ’, उनले भने।

अर्थतन्त्रमा केही समस्या भएको तर थोरै समस्या भएको भनेर चित्त बुझाउने ठाउँ नरहेको अध्यक्ष नेपालले बताए। उनले पछिल्लो समय ऋण नतिर्ने भन्दै आन्दोलन भैरहेकोमा विमति जनाए।

समस्यामा रहेका व्यवसायी र लगानीकर्तालाई सरकारले पहल गरेर सहुलियत दिइनुपर्ने अध्यक्ष नेपालकाे भनाइ छ।

मंसिर २३, २०८० शनिबार १५:०५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।