सरकारका वेवास्ताका कारण पोखरा र लुम्बिनी विमानस्थल सञ्चालन हुन सकेन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गरेको बताएका छन्।
शनिबार मध्यपहाडी पुष्पलाल लोकमार्ग अभियानका क्रममा गोरखामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विमानस्थल चलाउन पाउँदैनौँ भनेर भित्र भने पनि बाहिरबाट कुनै शक्तिले भन्न नसक्ने बताए।
उनले चीनलाई पर्यटक ल्याउन आग्रह गर्ने हो भने पनि वार्षिक ५ देखि १० लाख पर्यटक ल्याउनसक्ने भन्दै उनले सरकारले विमानस्थल सञ्चालनमा जोड दिनुपर्ने बताए।
उनले भने, ‘एयरपोर्ट बनेको छ, आफ्नै जमिनमा बनेको हो, आफ्नै जमिनबाट उडाउने र ल्याण्ड गर्ने हो। के समस्या छ ? तर सरकार यस्तो छ, पोखरामा पनि एयरपोर्ट उद्घाटन भएछ होइन, भनेपछि अँ बनाइहाले भन्ने तरिका छ। उद्घाटन भयो, अब चलाइन्छ भन्नु परेन। हाम्रो सार्वभौम सत्ता, स्वाधिनताको, स्वतन्त्रताको उपयोग गर्ने हुति राख्नुपर्छ। लिम्पियाधुरा, लिपुलेक, कालापानीको प्रश्न, हाम्रा उच्चस्तरका वार्तामा समावेश हुन सक्दैन भने त्यो भन्दा देशप्रतिको बेइमानी के हुन्छ?’
मंसिर २३, २०८० शनिबार १३:२६:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।